spot_img

तीजको अवसरमा बीरगन्ज कारागारका महिला कैदीबन्दीलाई खाद्यान्न र सरसफाइ सामग्री

spot_img
spot_img

बीरगन्ज, २६ भदौ । हरितालिका तीजको अवसरमा बीरगन्ज कारागारमा रहेका महिला कैदीबन्दीलाई खाद्यान्न तथा व्यक्तिगत स्वास्थ्य र सरसफाइका सामग्री वितरण गरिएको छ।

लायन्स क्लब अफ बीरगन्ज मिलेनियम एमजेएफ र लायन्स क्लब अफ वीरगञ्ज सेन्ट्रलको संयुक्त आयोजनामा शुक्रबार महिला कैदीबन्दीलाई आवश्यक खाद्यान्नसँगै स्वास्थ्य तथा सरसफाइ सामग्री प्रदान गरिएको हो।

कार्यक्रमका प्रमुख अतिथि बीरगन्ज महानगरपालिका–४ का वडाध्यक्ष जगतप्रसाद कानुले तीजको अवसर पारेर महिला कैदीबन्दीलाई लक्षित गरी गरिएको सहयोगले सकारात्मक सामाजिक सन्देश दिएको बताए। उनले सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

लायन्स क्लब अफ बीरगन्ज मिलेनियम एमजेएफका अध्यक्ष वीरेन्द्र साह र लायन्स क्लब अफ बीरगन्ज सेन्ट्रलकी अध्यक्ष मिनाक्षी गुप्ताको संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो।

कार्यक्रममा रोशन गुप्ता, डी.एन. अग्रवाल, सुशील चाचान, विनोद खण्डेवाल, वीरगञ्ज कारागारका सुरक्षा प्रमुख प्रदीप जैसवाल तथा जेलर सुनिल चौरसियालगायतको उपस्थिति थियो।

कार्यक्रमका लागि आवश्यक सम्पूर्ण खर्च अस्ट्रेलियामा बस्दै आएकी लालबहादुर थिङकी छोरी इनु थिङले व्यवस्थापन गरेकी थिइन्। कार्यक्रमको सञ्चालन लालबहादुर थिङले गरेका थिए।

आयोजकका अनुसार तीजको अवसरमा कारागारमा रहेका महिलालाई आवश्यक सामग्री उपलब्ध गराउँदै उनीहरूको स्वास्थ्य, सरसफाइ तथा मानवीय आवश्यकताप्रति सामाजिक ध्यानाकर्षण गराउनु कार्यक्रमको उद्देश्य थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय