जनकपुर, २६ भदौ । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका २५ वर्षीय विवेक सरदारको शव बलवा नगरपालिका–७ बनौटास्थित एक घरको शौचालयको सेफ्टी ट्यांकीमा फेला परेको छ।
प्रहरीका अनुसार भंगहा नगरपालिका–६ बिर्जौनी टोलका सरदारको शव अशोक ठाकुरको घरको सेफ्टी ट्यांकीभित्र लुकाइएको अवस्थामा भेटिएको हो। शवलाई टुक्राटुक्रा पारेर ट्यांकीमा राखिएको र माथिबाट सिमेन्ट तथा बालुवाले छोपेर प्लास्टर गरिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
रक्षाबन्धनको दिनदेखि विवेक सम्पर्कविहीन भएपछि परिवारले उनको खोजी गर्दै आएको थियो। घटनाबारे प्रहरीलाई समेत जानकारी गराइएको थियो। अनुसन्धानका क्रममा विवेकको अन्तिम मोबाइल लोकेसन घटनास्थल आसपास देखिएको र उनको अन्तिम फोन कल ठाकुरका छोरा दिपेन्द्रकी श्रीमतीको नम्बरमा देखिएको प्रहरी स्रोतले जनाएको छ।
यसपछि शंकाका आधारमा प्रहरीले अशोक ठाकुर र उनका छोरा दिपेन्द्रलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो। सोही क्रममा उनीहरूले शव सेफ्टी ट्यांकीमा लुकाएकोबारे जानकारी दिएपछि प्रहरीले घटनास्थलमा पुगेर शव बरामद गरेको बताइएको छ।
प्रहरीले घटनाको कारण र हत्यामा संलग्न व्यक्तिबारे थप अनुसन्धान गरिरहेको छ। प्रारम्भिक अनुसन्धानमा विवेक र दिपेन्द्रकी श्रीमतीबीचको चिनजान तथा सम्पर्कलाई समेत आधार बनाइएको प्रहरीले जनाएको छ।
दिपेन्द्र वैदेशिक रोजगारीमा रहेको र केही दिनअघि मात्रै घर फर्किएको प्रहरीको भनाइ छ। विवेकलाई फोनमार्फत घरमा बोलाएर हत्या गरिएको हुनसक्ने प्रारम्भिक आशंका रहे पनि घटनाको वास्तविक कारण अनुसन्धानपछि मात्र स्पष्ट हुने प्रहरीले जनाएको छ।





