spot_img

नेपाल–चीन सम्बन्धलाई भूगोलभन्दा माथि उठाउनुपर्छ : परराष्ट्रमन्त्री खनाल

spot_img
spot_img

काठमाडौं,२७ भदौ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र चीनबीचको सम्बन्धलाई भूगोलको सीमाभन्दा माथि उठाएर थप विस्तार गर्नुपर्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित काष्ठमण्डप संवादलाई सम्बोधन गर्दै मन्त्री खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय समस्या तथा प्राकृतिक विपद् कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताए ।

हालैको भोटेकोशी विपद्प्रति दुःख व्यक्त गर्दै उनले विपद्का बेला मानवीय सहयोग र ऐक्यबद्धता जनाएकोमा चीन सरकार तथा चिनियाँ जनतालाई धन्यवाद दिए । हिमालय र यसको पारिस्थितिक प्रणाली राजनीतिक सीमाभन्दा बाहिर एकअर्कासँग जोडिएको उल्लेख गर्दै उनले यस्ता चुनौती सामना गर्न नेपाल र चीनबीच समन्वय, पूर्वतयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेको बताए ।

नेपाल–चीन सम्बन्धबारे चर्चा गर्दै मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्र निर्धारण नगर्ने बताए । सदियौँदेखि सीमापार समुदाय, व्यापार, संस्कृति र जनस्तरको आदानप्रदानमार्फत नेपाल र चीनबीच सभ्यतागत सम्बन्ध कायम रहेको उनको भनाइ थियो ।

उनले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपालको भूमि चीनको वैध सुरक्षा हितविरुद्ध प्रयोग हुन नदिने बताए । दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा उनले जोड दिए ।

सन् २०१९ मा स्थापित रणनीतिक साझेदारीलाई थप सुदृढ गर्दै सीमापार कनेक्टिभिटी, व्यापार सहजीकरण, प्रविधि हस्तान्तरण र साझा समृद्धिमा केन्द्रित हुनुपर्ने मन्त्री खनालले बताए ।

चीनले प्रविधि तथा नवप्रवर्तनको क्षेत्रमा हासिल गरेको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै उनले अनुसन्धान, प्रयोगशाला, नवप्रवर्तन तथा ज्ञान आदानप्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताए । यस्तो सहकार्यले नेपालको जनसाङ्ख्यिक लाभांशलाई उत्पादनशील क्षेत्रमा उपयोग गर्न सहयोग पुग्ने उनको भनाइ छ ।

मन्त्री खनालले नेपाल–चीन सीमा व्यवस्थापनमा वातावरणीय पक्षलाई समेत प्राथमिकता दिनुपर्ने बताए । परम्परागत सीमा व्यवस्थापनको अवधारणासँगै ‘इकोलोजिकल बोर्डर म्यानेजमेन्ट’लाई अघि बढाउनुपर्ने उनले बताए ।

हिमाली क्षेत्रमा देखिने साझा जोखिमको व्यवस्थापन, सीमापार कनेक्टिभिटी विस्तार तथा विपद् प्रतिरोधी पूर्वाधार निर्माणमा नेपाल र चीनबीच थप सहकार्य आवश्यक रहेको मन्त्री खनालले उल्लेख गरे ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय