spot_img

सल्यानमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ३ जना घाइते

spot_img
spot_img

सल्यान, २७ भदौ । सल्यानको त्रिवेणी गाउँपालिका–५ सिम्कमा बोलेरो जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

शनिबार बिहान सिम्कबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको लु.प्र.०२–००१ ज ०००५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई सडकबाट करिब ९० मिटर तल खसेर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा त्रिवेणी गाउँपालिका–६ पोखरीका ८ वर्षीय रेशम बुढाथोकी, त्रिवेणी–५ सल्लेका करिब १८ वर्षीया विपना बुढाथोकी र सोही गाउँपालिका–५ का ५० वर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको हो ।

प्रहरीका अनुसार रेशम र विपनाको घटनास्थलमै मृत्यु भएको थियो । डिल्लीबहादुरको भने उपचारका क्रममा दाङमा मृत्यु भएको हो ।

दुर्घटनामा जिप चालक त्रिवेणी गाउँपालिका–५ सिम्कका २४ वर्षीय भुपाल पुनसहित तीन जना घाइते भएका छन् । पुनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनको टाउकोमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा रहेको बताइएको छ ।

अन्य घाइतेमा त्रिवेणी–५ का २९ वर्षीय पारस बोहरा र त्रिवेणी–६ की करिब ४२ वर्षीया लालमति बुढाथोकी छन् । उनीहरूको टाउकोमा चोट लागेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।

घाइतेलाई लुहामस्थित त्रिवेणी हेल्थ केयरमा सामान्य उपचारपछि थप उपचारका लागि दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।

दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय