spot_img

वीरगन्जका पाँच स्वास्थ्य संस्था उत्कृष्ट कार्यसम्पादनका आधारमा सम्मानित

spot_img
spot_img

वीरगन्ज,२७ भदौ । वीरगन्ज महानगरपालिकाभित्र स्वास्थ्य सेवा प्रवाह तथा कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका पाँच स्वास्थ्य संस्था सम्मानित भएका छन् ।

सम्मानित हुनेमा लिपनी बिर्ता स्वास्थ्य चौकी, पर्सैनी बिर्ता स्वास्थ्य चौकी, मनियारी स्वास्थ्य चौकी, नगर स्वास्थ्य केन्द्र छपकैया–१० र आधारभूत स्वास्थ्य केन्द्र–२ रहेका छन् ।

वीरगन्ज महानगरपालिका स्वास्थ्य तथा सामाजिक विकास महाशाखाअन्तर्गत जनस्वास्थ्य प्रवर्द्धन शाखाले आयोजना गरेको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रगति समीक्षा गोष्ठीमा कार्यसम्पादन र उपलब्धिका आधारमा ती स्वास्थ्य संस्थालाई सम्मान गरिएको हो ।

महानगरको सभाहलमा शुक्रबार सम्पन्न गोष्ठीमा महानगरका ३४ स्वास्थ्य संस्थाका प्रमुख तथा साझेदार संस्थाका प्रतिनिधिसहित ४४ जनाको सहभागिता थियो । भदौ २३–२४ र २५–२६ गते गरी दुई चरणमा सञ्चालन गरिएको गोष्ठीमा स्वास्थ्य संस्थाको वार्षिक प्रगति, सेवा प्रवाह तथा उपलब्धिको समीक्षा गरिएको थियो ।

करिब एक दशकपछि महानगरका कार्यवाहक मेयरसहित सम्बन्धित सरोकारवालाको प्रत्यक्ष सहभागितामा वार्षिक समीक्षा गोष्ठी आयोजना गरिएको जनाइएको छ । गोष्ठीमार्फत स्वास्थ्य संस्थाको कार्यसम्पादन मूल्यांकन गर्दै उत्कृष्ट संस्थालाई प्रोत्साहनस्वरूप सम्मान गरिएको हो ।

समीक्षाका क्रममा महानगरको समग्र स्वास्थ्य कार्यक्रमको प्रगतिमा भने अघिल्ला तीन वर्षको तुलनामा केही कमी देखिएको जनाइएको छ । केन्द्रमा पठाइएको विवरण र स्वास्थ्य संस्थाको स्थलगत वास्तविक अवस्थाबीच देखिएको अन्तरका कारण प्रगति विवरणमा केही कमी देखिएको महाशाखाले जनाएको छ ।

गोष्ठीका अध्यक्ष एवं महानगरका कार्यवाहक मेयर इम्तियाज आलमले स्वास्थ्य सेवा नागरिकको जीवनसँग प्रत्यक्ष जोडिएकाले यसको प्रभावकारिता र गुणस्तर सुधारलाई महानगरले प्राथमिकतामा राखेको बताए ।

केन्द्रमा पठाइने तथ्यांक र स्थलगत अवस्थाबीचको अन्तर हटाउँदै स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्न स्वास्थ्यकर्मीलाई थप जिम्मेवार भएर काम गर्न उनले निर्देशन दिए ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहराले पारदर्शी मूल्यांकनका आधारमा उत्कृष्ट स्वास्थ्य संस्थालाई सम्मान गरिएको बताए । कामका क्रममा देखिएका प्राविधिक तथा व्यावहारिक त्रुटि सुधार गर्दै केन्द्रको तथ्यांक र फिल्डको वास्तविकताबीचको दूरी कम गर्न आगामी दिनमा स्थलगत अनुगमनलाई थप प्रभावकारी बनाइने उनले बताए ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय