spot_img

दुबईमा अलपत्र नेपालीको उद्धारका लागि मन्त्री पुनको सामाजिक सञ्जालमार्फत आग्रह

spot_img
spot_img

काठमाडौं,२७ भदाै । संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा अलपत्र परेका एक नेपालीको उद्धारका लागि विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आग्रह गरेका छन्।

मन्त्री पुनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत सुनिल लुंगेली मगर नाम गरेका नेपाली दुबईमा समस्यामा परेको जानकारी दिँदै उनको तत्काल उद्धारका लागि सहयोग गर्न आग्रह गरेका हुन्।

पुनका अनुसार मगरले आफूलाई दुबईबाट फोन गरी रुँदै आफ्नो समस्या सुनाएका थिए। रोजगारदाता कम्पनीले उनको राहदानी नियन्त्रणमा लिएपछि उनी अलपत्र अवस्थामा रहेको मन्त्री पुनले उल्लेख गरेका छन्।

मन्त्री पुनले मगरसँग राहदानीबाहेक अन्य आवश्यक कागजात सुरक्षित रहेको जानकारी दिँदै दुबई तथा शारजहाँ क्षेत्रमा रहेका नेपाली समुदाय र संघ–संस्थालाई उनको सम्पर्कमा पुगेर यथाशीघ्र उद्धारका लागि पहल गर्न आग्रह गरेका छन्।

यद्यपि, मन्त्री पुनले सरकारी संयन्त्रमार्फत पहल गर्नुको सट्टा सामाजिक सञ्जालमार्फत सर्वसाधारण तथा नेपाली समुदायसँग उद्धारका लागि सहयोग मागेको विषयमा आलोचना पनि भएको छ।

सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै केही प्रयोगकर्ताले नेपाली नागरिकको उद्धारका लागि सरकारले नै सम्बन्धित कूटनीतिक तथा सरकारी निकायमार्फत पहल गर्नुपर्ने बताएका छन्। एक प्रयोगकर्ताले सरकारलाई नागरिकले उद्धारका लागि गुहार्नुपर्ने अवस्थामा उल्टै सरकारले नागरिकसँग सहयोग माग्नुपर्ने अवस्था देखिएको भन्दै प्रश्न गरेका छन्।

अर्का प्रयोगकर्ताले मन्त्रीले सामाजिक सञ्जालमार्फत उद्धारका लागि सहयोग माग्नुको सट्टा परराष्ट्र तथा सम्बन्धित सरकारी निकायमार्फत कूटनीतिक पहल गर्नुपर्ने धारणा व्यक्त गरेका छन्।

मगरको अवस्थाबारे मन्त्री पुनले सार्वजनिक रूपमा जानकारी गराए पनि उनको उद्धारका लागि सम्बन्धित सरकारी निकाय वा यूएईस्थित नेपाली दूतावासबाट औपचारिक रूपमा के–कस्तो पहल भइरहेको छ भन्ने विषय भने स्पष्ट भइसकेको छैन।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय