spot_img

जलवायु न्याय र क्षतिपूर्तिको माग गर्दै सुनसरीमा प्रदर्शन

spot_img
spot_img

सुनसरी,२७ भदाै । जलवायु परिवर्तनमा नेपालको योगदान न्यून भए पनि यसको गम्भीर असर नेपालले भोगिरहेको भन्दै सुनसरीमा जलवायु न्याय र न्यायोचित क्षतिपूर्तिको माग गर्दै प्रदर्शन गरिएको छ।

रामधुनी नगरपालिकाका नागरिक समाज तथा स्थानीय सामाजिक अगुवाको नेतृत्वमा शनिबार बिहान र्‍यालीसहित प्रदर्शन गरिएको हो। विभिन्न संघसंस्था, स्थानीयवासी तथा विद्यालयका विद्यार्थी सहभागी र्‍यालीले रामधुनीका बजार क्षेत्र परिक्रमा गरेपछि कोणसभामा परिणत भएको थियो।

प्रदर्शनमा सहभागीहरूले जलवायु परिवर्तनका कारण नेपालमा बढ्दै गएको बाढी, डुबान, पहिरो, अनियमित वर्षा र तापक्रम वृद्धिजस्ता समस्याप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराएका थिए।

उनीहरूले जलवायु परिवर्तनमा न्यून योगदान गर्ने नेपालजस्ता विकासोन्मुख मुलुकले यसको असर भने तुलनात्मक रूपमा बढी भोग्नुपरेको भन्दै प्रभावित समुदायका लागि न्यायोचित क्षतिपूर्ति तथा संरक्षणका कार्यक्रम सञ्चालन गर्न माग गरेका छन्।

र्‍यालीमा सहभागीहरूले ‘हामी जलवायु न्याय चाहन्छौँ’, ‘वातावरण संरक्षण गरौँ’ लगायतका नारा लगाएका थिए।

स्थानीय सामाजिक अगुवाहरूले जलवायु परिवर्तनको प्रत्यक्ष असर स्थानीय समुदाय, किसान, विद्यार्थी तथा विपन्न वर्गमा बढी परिरहेको बताएका छन्। उनीहरूले जलवायु जोखिम न्यूनीकरणसँगै त्यसको असर सामना गर्न अनुकूलनका कार्यक्रमलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

जलवायु परिवर्तनका असर न्यूनीकरण तथा प्रभावित समुदायको संरक्षणका लागि स्थानीय तहदेखि अन्तर्राष्ट्रिय स्तरसम्म प्रभावकारी पहल आवश्यक रहेको उनीहरूको भनाइ छ। प्रदर्शनमार्फत जलवायु संकटलाई केवल वातावरणीय मुद्दाका रूपमा नभई न्याय, अधिकार र क्षतिपूर्तिसँग जोडिएको विषयका रूपमा सम्बोधन गर्नुपर्ने मागसमेत गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय