वीरगन्ज,२७ भदौ । पर्साको पर्सागढी नगरपालिका–५ हर्दियास्थित मन्दिर परिसरमा चौतारी पार्क निर्माण गरिएको छ ।
वातावरण संरक्षण तथा धार्मिक क्षेत्रको सौन्दर्यीकरण गर्ने उद्देश्यले डिभिजन वन कार्यालय पर्साको १६ लाख रुपैयाँको लागतमा पार्क निर्माण गरिएको हो ।
नवनिर्मित पार्कको शनिबार सबैया साझेदारी वन उपभोक्ता समितिका उपाध्यक्ष तथा पर्सागढी नगरपालिकाका नगरसभा सदस्य असलम आलमले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा आलमले सार्वजनिक तथा धार्मिक स्थलको संरक्षण, सरसफाइ र हरियाली प्रवर्द्धनमा पार्कले सहयोग पुग्ने बताए । धार्मिक स्थलमा आउने श्रद्धालुका लागि विश्रामस्थलका रूपमा समेत चौतारी पार्क उपयोगी हुने उनको भनाइ थियो ।
कार्यक्रममा पार्क निर्माण उपभोक्ता समितिका अध्यक्ष रमेशप्रसाद यादव, आमोदिन हवारी, वीरेन्द्र तिवारी, मनमोध यादवलगायतको उपस्थिति थियो ।





