काठमाडौं,२७ भदाै । रसुवाको भोटेकोशी नदीमा आएको बाढीले बगाएको गरगहना फेला पारेर लुकाएको आरोपमा प्रहरीले धादिङबाट एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारका ३५ वर्षीय रामबहादुर तामाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनले भदौ ११ गते नुवाकोटको विदुर नगरपालिका–१ त्रिशूली बजारबाट बाढीले बगाएको गरगहना फेला पारेका थिए ।
भदौ १० गतेको बाढीमा लिलाबहादुर बोगटीको घर बगाउने क्रममा उनका गरगहना पनि बगेका थिए । ती गरगहना तामाङले फेला पारेर नियतवश लुकाउन खोजेको सूचना पाएपछि बोगटीले प्रहरीलाई खबर गरेका थिए ।
त्यसपछि धादिङको आदमघाट अस्थायी प्रहरी पोस्टबाट खटिएको टोलीले तामाङलाई गरगहनासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार बरामद गरगहनामा सुनजस्तो देखिने तीन थान बाला, दुई थान झुम्का, दुई थान सिक्री, दुई थान औँठी र दुई थान मंगलसूत्र छन् । यस्तै, चाँदीजस्तो देखिने दुई जोर पाउजु पनि बरामद गरिएको छ ।





