spot_img

नुवाकोटमा नेपाल प्रहरीको पाँच शय्याको अस्थायी अस्पताल सञ्चालन

spot_img
spot_img

त्रिशूली,२७ भदाै । भोटेकोशी नदीमा आएको बाढीपछि उत्पन्न हुन सक्ने स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटको विदुरमा पाँच शय्याको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ ।

त्रिशूली नदीमा आएको बाढीका कारण त्रिशूली अस्पतालसँगको सम्पर्क प्रभावित भएपछि बाढीपछिका सम्भावित सङ्क्रामक रोग नियन्त्रण तथा प्रभावित नागरिकलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले लेभल–१ फिल्ड अस्पताल सञ्चालन गरिएको हो ।

नेपाल प्रहरी अस्पतालमा कार्यरत प्रहरी नायब महानिरीक्षक दामोदर पौडेलका अनुसार अस्पतालमा विशेषज्ञ चिकित्सकसहित चौबिसै घण्टा आकस्मिक सेवा उपलब्ध हुनेछ । अस्पतालबाट बहिरङ्ग सेवा (ओपिडी), वार्ड, प्रयोगशाला र औषधिसहितका सेवा सर्वसाधारणले निःशुल्क पाउने व्यवस्था गरिएको छ ।

बाढीका कारण पुलहरू बग्दा रसुवा, नुवाकोटलगायतका बासिन्दालाई त्रिशूली अस्पतालसम्म पुग्न कठिनाइ भएकाले विदुरमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराइएको पौडेलले बताए ।

उनका अनुसार बाढीपछि प्रदूषित पानी, शव तथा पशुचौपायाको क्षति र प्रतिकूल मौसमका कारण विभिन्न सङ्क्रामक रोग फैलिन सक्ने जोखिमलाई ध्यानमा राखेर आवश्यक औषधि, उपकरण र जनशक्तिको व्यवस्था गरिएको छ ।

विपद्पछिको अवस्थामा सरुवा रोगसँगै मानसिक स्वास्थ्यसम्बन्धी समस्या पनि चुनौतीका रूपमा देखिन सक्ने भएकाले फिल्ड अस्पतालले मनोपरामर्शसहितको स्वास्थ्य सेवालाई प्राथमिकता दिएको छ ।

जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रमुख प्रहरी उपरीक्षक विपिन रेग्मीका अनुसार होल्डिङ सेन्टरमा विभिन्न बस्तीका मानिसहरू एकै ठाउँमा बसिरहेकाले सङ्क्रमण फैलिन नदिन स्वास्थ्यकर्मीमार्फत नियमित रूपमा सचेतना दिइरहेको छ ।

यसैबीच, बाढीमा परी बेपत्ता भएका व्यक्तिको पहिचान तथा फेला परेका बेवारिसे शवको पहिचानका लागि फिल्ड अस्पताल परिसरबाटै डीएनए परीक्षणसम्बन्धी सेवा पनि सञ्चालन गरिएको प्रहरीले जनाएको छ ।

बेपत्ता व्यक्तिका परिवारले डीएनए परीक्षणका लागि नमुना दिन काठमाडौं पुग्नुपर्ने अवस्था अन्त्य गर्दै प्रहरीले विदुरमै सम्पर्क केन्द्र सञ्चालनमा ल्याएको हो । बाढीमा परिवारका सदस्य बेपत्ता भएका व्यक्तिलाई डीएनए परीक्षणका लागि नमुना उपलब्ध गराउन प्रहरीले आग्रह गरेको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय