spot_img

सरकार जनताको अपेक्षाअनुसार चल्न सकेन : माधव नेपाल

spot_img
spot_img

बीरगन्ज,२७ भदाै । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सह–संयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकार जनताको अपेक्षाअनुसार काम गर्न नसकेको टिप्पणी गरेका छन्।

वीरगंजमा शुक्रबार आयोजित पत्रकार भेटघाटमा नेपालले संविधानको रक्षा, संघीयता र समावेशिता जोगाउन परिवर्तनकारी शक्तिहरूबीच कार्यगत एकता आवश्यक रहेको बताए।

उनले लामो संघर्ष र बलिदानबाट प्राप्त मौलिक हक, लोकतन्त्र, संघीयता र समावेशितालगायत संवैधानिक उपलब्धि कमजोर पार्ने प्रयास हुन सक्ने भन्दै त्यसको संरक्षणका लागि परिवर्तनकारी शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखे।

“संविधान सामान्य परिवर्तनबाट आएको होइन, अहिले हामीलाई संविधान जोगाउने चिन्ता छ,” नेपालले भने, “मुख्य कुरा संघीयता र समावेशिता जोगाउने हो। जनताले सुशासनको अनुभूति गर्न पाइरहेका छैनन्। त्यसैले परिवर्तनकारी शक्ति एकजुट भएर अगाडि बढ्नुको विकल्प छैन।”

नेपालले आदिवासी, महिला, जनजाति, मधेशी, दलित, मुस्लिम, अपाङ्गता भएका व्यक्ति तथा पिछडिएको क्षेत्रलगायत सीमान्तकृत समुदायका संवैधानिक अधिकारको व्यवहारिक कार्यान्वयनमा जोड दिए। उनले प्राप्त अधिकारको संरक्षणसँगै थप अधिकारका लागि समेत एकीकृत रूपमा संघर्ष गर्नुपर्ने बताए।

नेकपा (एमाले)सँग तत्काल पार्टी एकता सम्भव नरहेको स्पष्ट पार्दै नेपालले मुलुकको विकास र समृद्धिका लागि विभिन्न कम्युनिष्ट पार्टीबीच भने कार्यगत एकता आवश्यक रहेको बताए।

पूर्वप्रधानमन्त्री नेपालले भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीका क्रममा सरकारले खोज तथा उद्धारमा पर्याप्त तत्परता देखाउन नसकेको आरोप पनि लगाए। विपद्का बेला समयमै भारत र चीनको सहयोग लिन सक्नुपर्ने उनको भनाइ थियो।

“देश अहिले विपत्तिमा छ। हिमाली सुनामीका कारण ठूलो जनधनको क्षति भएको छ,” उनले भने, “खोजी कार्यमा सरकारले पर्याप्त ध्यान दिन सकेन। भोटेकोशी बाढीका क्रममा सरकार धेरै ठाउँमा चुकेको छ।”

नेपालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएका घटनाको समेत निष्पक्ष छानबिन हुनुपर्ने माग गरे।

समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष शम्भुकुमार सुमनको अध्यक्षतामा भएको पत्रकार भेटघाटमा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री कनिश पटेल, नेकपा पर्साका सह–इन्चार्ज मनोज चौधरी, जिल्ला संयोजक जयप्रकाश थारु,मधेश प्रदेशका अध्यक्ष मनाेज कुमार पटेल,समाजवादी प्रेस संगठन नेपाल पर्साका सचिव विनाेद पटेल, गंगा खड्का, बाबुराम कौशिक, केन्द्रीय सदस्य किशोरी कुशवाहालगायतको उपस्थिति थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय