जनकपुर,२७ भदाै । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राज्यले जनता समाजवादी पार्टी (नेपाल) का अध्यक्ष उपेन्द्र यादवलाई नियतवश फसाउन खोजेको आरोप लगाएका छन्।
‘९ दलीय अग्रगामी मोर्चा’को मधेश प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै राउतले यादवमाथि मात्रै नभई आफूहरूमाथि समेत पटक–पटक राज्यबाट यस्तै व्यवहार हुने गरेको दाबी गरे।
राउतले विगतमा आफूहरूबाट समेत कमजोरी भएको स्वीकार गर्दै आन्तरिक समस्या आपसी छलफल र संवादबाट समाधान गर्नुपर्नेमा जोड दिए। अधिकारको संघर्षमा नेतृत्वको भूमिका महत्वपूर्ण हुने भन्दै उनले नेता तथा कार्यकर्तालाई गाउँ–गाउँ पुगेर संगठन र नेतृत्वको मनोबल बलियो बनाउन आग्रह गरे।
उनले राजनीतिक आन्दोलनमा ईर्ष्या र विभेदको भावना हाबी हुँदा मधेशका राजनीतिक शक्तिहरूले समस्या भोग्नुपरेको धारणा राखे।
राज्यको व्यवहारमा दोहोरो मापदण्ड रहेको आरोप लगाउँदै राउतले हिंसा तथा गम्भीर घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाही नहुने तर सामान्य प्रकृतिका घटनामा समेत सर्वसाधारणलाई कडा मुद्दा लगाएर फसाउने गरिएको बताए।
“हत्या–हिंसामा सहभागी भएकाहरूलाई मुद्दा लाग्दैन, तर सोझासाझा जनतालाई सामान्य अपराधमा पनि ठूला मुद्दा लगाएर फसाउने गरिएको छ,” राउतले भने।
उनले वर्तमान सरकारले विगतका संघर्ष र बलिदानीबाट प्राप्त अधिकारलाई कमजोर पार्ने प्रयास गरिरहेको आरोपसमेत लगाए। प्राप्त राजनीतिक तथा संवैधानिक अधिकारको संरक्षणका लागि मधेशका राजनीतिक शक्ति र कार्यकर्ताबीच थप एकता र सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।





