रौतहट,२७ भदाै । प्रहरीसँग पहुँच रहेको भन्दै थुनुवालाई छुटाइदिने आश्वासन दिएर एक लाख रुपैयाँ ठगी गरेको आरोपमा रौतहटमा वडाध्यक्ष पदका प्रत्याशी पक्राउ परेका छन्।
गरुडा नगरपालिका–९ श्रीपुरका वडाध्यक्ष पदका प्रत्याशी शेख हुस्नैनलाई ठगीसम्बन्धी कसुरमा पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार केही दिनअघि श्रीपुरमा भएको झगडाका क्रममा प्रहरीमाथि दुर्व्यवहार गरेको आरोपमा रामजन मियाँ पक्राउ परेका थिए। त्यसपछि हुस्नैनले मियाँकी श्रीमतीलाई प्रहरीसँग कुरा गरेर मुद्दा मिलाइदिने र उनका श्रीमानलाई हिरासतबाट छुटाइदिने आश्वासन दिएको आरोप छ।
सोही आश्वासनमा मियाँकी श्रीमतीबाट एक लाख रुपैयाँ लिएको प्रहरीको दाबी छ। तर रकम बुझाएपछि पनि रामजन मियाँ नछुटेपछि उनकी श्रीमतीले आफू ठगीमा परेको भन्दै इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दिएकी थिइन्।
जाहेरीका आधारमा हुस्नैनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख प्रहरी नायब उपरीक्षक शंकरप्रसाद आचार्यले जानकारी दिए। उनका अनुसार प्रहरीको नाम र पहुँच प्रयोग गरेर रकम असुली गरेको विषय गम्भीर भएकाले जिल्ला अदालत गौरबाट म्याद लिएर थप अनुसन्धान भइरहेको छ।
यसै घटनामा गरुडा नगरपालिका–९ का वर्तमान वडाध्यक्ष राजेश सहनीविरुद्ध पनि रकम असुली गरेको आरोपमा जाहेरी परेको प्रहरीले जनाएको छ। सहनीमाथि लागेको आरोपबारे समेत अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक आचार्यले बताए।
तर वडाध्यक्ष सहनीले भने आफूले रामजन मियाँलाई छुटाउन कसैसँग पनि रकम नलिएको भन्दै आफूमाथिको आरोप अस्वीकार गरेका छन्।
हुस्नैन हाल इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा छन्। घटनामा अन्य व्यक्तिको संलग्नता भए–नभएको विषयमा समेत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।





