जनकपुर,२७ भदाै । नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशम चौधरीले लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरेर सरकारले मधेसी र थारु समुदायमाथि अन्याय गर्दै आएको आरोप लगाएका छन्।
‘९ दलीय अग्रगामी मोर्चा’को मधेस प्रदेश समन्वय समितिले जनकपुरमा आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै चौधरीले सरकार परिवर्तन भए पनि मधेसी र थारु समुदायका सवालमा राज्यको व्यवहारमा परिवर्तन आउन नसकेको बताए।
उनले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुने अपेक्षा गरे पनि वर्तमान सरकारले समेत त्यसतर्फ चासो नदिएको भन्दै असन्तुष्टि व्यक्त गरे।
“हामीलाई कसैले न्याय दिन नसकेकामा बडो पीडाबोध भएको छ। यो सरकारले त गर्ला भन्ने सोचेका थियौँ, तर यो सरकार पनि कानमा तेल हालेर बसेको छ,” चौधरीले भने।
चौधरीले मधेस तथा थारु आन्दोलनका क्रममा सहभागी भएका कतिपय कार्यकर्ता अझै हिरासतमा रहेको दाबी गर्दै उनीहरूको रिहाइ र आन्दोलनबाट उठाइएका अधिकारका माग सम्बोधनका लागि राजनीतिक शक्तिहरू एकजुट हुनुपर्ने बताए।
कार्यकर्ताको मनोबल र वर्तमान राजनीतिक अवस्थाबारे बोल्दै उनले कठिन परिस्थितिमा अनावश्यक उत्सवभन्दा आगामी दिनमा संघर्ष र उपलब्धिमार्फत सफलता हासिल गर्नुपर्ने धारणा राखे।
“अहिले हारेको अवस्थामा हामीलाई फूलमाला नलगाइदिएको भए हुन्थ्यो। अब आउने दिनमा जितेर मात्रै माला लगाउनुपर्छ,” उनले भने।
मधेसी तथा थारु समुदायका अधिकार, आन्दोलनसँग सम्बन्धित मुद्दा र हिरासतमा रहेका कार्यकर्ताको रिहाइका विषयमा साझा पहल आवश्यक रहेको चौधरीको भनाइ थियो। उनले अधिकार प्राप्तिका लागि सबै सम्बन्धित शक्ति एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिए।





