spot_img

सरकार र संसद्लाई सही ट्र्याकमा ल्याउन अग्रगामी मोर्चाले भूमिका खेल्छ : जनार्दन शर्मा

spot_img
spot_img

जनकपुर,२७ भदाै । प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’ले ‘९ दलीय अग्रगामी मोर्चा’ निर्वाचन लक्षित नभई मुलुकको आवश्यकता र उत्पीडित समुदायको अधिकारका लागि गठन गरिएको बताएका छन्।

जनकपुरमा ‘९ दलीय अग्रगामी मोर्चा’को मधेस प्रदेश समन्वय समितिले आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा अभिमुखीकरण कार्यक्रममा बोल्दै शर्माले अहिले मुलुकमा प्रभावकारी प्रतिपक्षको भूमिका कमजोर बनेको अवस्थामा सरकार र संसद्लाई सही दिशामा अघि बढाउन मोर्चाले दबाब सिर्जना गर्ने बताए।

उनका अनुसार मोर्चा कुनै एउटा निर्वाचनलाई लक्षित गरेर मात्र गठन गरिएको होइन। उत्पीडित तथा पछाडि पारिएका वर्ग र समुदायका अधिकार सुनिश्चित गर्ने उद्देश्यले दीर्घकालीन रूपमा अघि बढाउने गरी मोर्चा निर्माण गरिएको उनको दाबी छ।

“दलित तथा उत्पीडित क्षेत्रका सबै मानिस लाभान्वित होऊन् र कसैको अवस्था ललिता पासवानको जस्तो नहोस् भनेर नै यो मोर्चा बनाउन खोजिएको हो,” शर्माले भने।

मोर्चालाई स्थानीय तहसम्म विस्तार गर्ने प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै उनले त्यसका लागि नेता, कार्यकर्ता तथा आम नागरिकको सहयोग आवश्यक रहेको बताए।

विभिन्न राजनीतिक दलहरूबीच कसरी सहकार्य सम्भव भयो भन्ने विषयमा धेरैलाई आश्चर्य लागेको उल्लेख गर्दै शर्माले मोर्चा कुनै व्यक्तिको व्यक्तिगत स्वार्थभन्दा साझा विचार र उद्देश्यका आधारमा निर्माण भएको दाबी गरे।

उनले मोर्चाभित्र आबद्ध कुनै व्यक्ति वा घटकबाट कमजोरी भए त्यसप्रति कार्यकर्ता र जनताले निरन्तर खबरदारी गर्नुपर्नेमा समेत जोड दिए। मोर्चाको उद्देश्य सरकार र संसद्लाई लोकतान्त्रिक तथा जनमुखी दिशामा अघि बढाउन दबाब सिर्जना गर्नु रहेको उनको भनाइ थियो।

शर्माले उत्पीडित वर्गका अधिकार, सामाजिक न्याय र सुशासनका मुद्दालाई केन्द्रमा राखेर मोर्चालाई तल्लो तहसम्म बलियो बनाउने प्रतिबद्धता व्यक्त गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय