spot_img

सरकार ढाल्ने उद्देश्यले अग्रगामी मोर्चा बनेको होइन : प्रभु साह

spot_img
spot_img

जनकपुर,२७ भदाै । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मुलुकमा देखिएको राजनीतिक, आर्थिक, सामाजिक तथा प्राकृतिक संकट समाधानका लागि अग्रगामी मोर्चा गठन गरिएको बताएका छन्।

जनकपुरधाममा आयोजित अग्रगामी मोर्चाको मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै साहले मोर्चा कुनै सरकार ढाल्ने उद्देश्यले नभई देशलाई संकटबाट निकास दिन निर्माण गरिएको स्पष्ट पारे।

“हामी सरकार ढाल्नका लागि अग्रगामी मोर्चा बनाएका होइनौँ,” साहले भने। उनले सत्ता परिवर्तनको खेलभन्दा मुलुकका बहुआयामिक समस्या समाधानमा राजनीतिक शक्तिहरू केन्द्रित हुनुपर्ने बताए।

देश अहिले राजनीतिक अस्थिरतासँगै आर्थिक, सामाजिक, जलवायु तथा प्राकृतिक विपत्तिजस्ता समस्याबाट गुज्रिरहेको उल्लेख गर्दै साहले यस्ता समस्या केवल सत्ताको दृष्टिकोणबाट हेरेर समाधान गर्न नसकिने धारणा राखे।

उनका अनुसार अग्रगामी मोर्चाको मुख्य उद्देश्य देशलाई एकताबद्ध बनाउने, संकटबाट निकास दिने, विगतका राजनीतिक उपलब्धिको रक्षा गर्ने तथा जनताका थप अधिकार सुनिश्चित गर्ने हो।

भारतका पूर्वप्रधानमन्त्री अटलविहारी वाजपेयीको भनाइ उद्धृत गर्दै साहले संगठन र कार्यकर्ताबीच एकता तथा मनोबल बलियो बनाउनुपर्नेमा जोड दिए। विगतका आन्दोलन तथा संघर्षमा सहभागी राजनीतिक शक्तिहरूले समाज र देशमा महत्वपूर्ण योगदान दिएको उल्लेख गर्दै उनले विगतका सकारात्मक अनुभवलाई वर्तमान संकट समाधानमा उपयोग गर्नुपर्ने बताए।

साहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केही नेताहरू सरकार ढाल्ने राजनीतिक खेलमा सक्रिय रहेको आरोपसमेत लगाए। सत्ता केन्द्रित गतिविधिले मात्र मुलुकका वास्तविक समस्या समाधान हुन नसक्ने उनको भनाइ थियो।

अग्रगामी मोर्चालाई आगामी दिनमा देशभर विस्तार गर्दै कार्यकर्ता तथा जनताबीचको सम्बन्ध थप बलियो बनाउने साहले बताए। उनले मोर्चालाई प्रभावकारी बनाउन विचार, संगठन र संघर्षको तयारीलाई एकसाथ अघि बढाउनुपर्नेमा जोड दिए।

मधेस प्रदेशस्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षणमार्फत संगठन विस्तार, कार्यकर्ताको क्षमता अभिवृद्धि र आगामी राजनीतिक गतिविधिका लागि आवश्यक तयारीलाई तीव्रता दिइने उनले बताए।

साहले वर्तमान संकटबाट मुलुकलाई निकास दिन जनताको सहभागिता, राजनीतिक एकता र संगठित संघर्ष आवश्यक रहेको धारणा व्यक्त गरे।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय