काठमाडौं,२७ भदाै । ड्रोन आक्रमणपछि साउदी अरबले आफ्नो पूर्व–पश्चिम तेल पाइपलाइन बन्द गरेको छ । बिहीबार भएको आक्रमणका क्रममा पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनमा आगलागी हुँदा केही व्यक्ति घाइते भएका छन् ।
साउदी ऊर्जा मन्त्रालयका अनुसार पाइपलाइनमा बिहीबार पटक–पटक ड्रोन आक्रमण भएको थियो । आक्रमणपछि पाइपलाइनको सुरक्षा र क्षतिको मूल्यांकन गर्न प्राविधिक टोली परिचालन गरिएको छ । हालसम्म कुनै देश वा समूहले आक्रमणको जिम्मेवारी लिएको छैन ।
अमेरिकी अधिकारीहरूका अनुसार आक्रमणमा पाइपलाइननजिक रहेका पम्पिङ स्टेसनलाई लक्षित गरिएको थियो । शुक्रबार सार्वजनिक स्याटेलाइट तस्बिरमा एउटा पम्पिङ स्टेसनमा ठूलो क्षति भएको र त्यहाँबाट कालो धुवाँ निस्किरहेको देखिएको छ । पाइपलाइनमा भएको क्षतिको पूर्ण विवरण र पुनः सञ्चालनको समय भने खुलाइएको छैन ।
साउदी विदेश मन्त्रालयले रियाद र मदिना क्षेत्रका पाइपलाइनमा धेरै ड्रोनमार्फत आक्रमण भएको जनाएको छ । ती ड्रोन इराकबाट आएको साउदीको दाबी छ ।
इराकी प्रधानमन्त्रीको आग्रहपछि साउदीले तत्काल जवाफी कारबाही नगर्ने निर्णय गरेको जनाएको छ । साउदीले इराकले आफ्नो भूमिबाट हुने यस्ता आक्रमण रोक्न प्रभावकारी कदम चाल्नुपर्ने बताएको छ ।
इराकले भने आक्रमणको निन्दा गर्दै घटनाको अनुसन्धान गर्ने र आफ्नो भूभाग तथा हवाई क्षेत्र अन्य देशमाथि आक्रमणका लागि प्रयोग हुन नदिने प्रतिबद्धता जनाएको छ ।
साउदी अरबको अधिकांश तेल देशको पूर्वी क्षेत्रमा उत्पादन हुन्छ । सामान्य अवस्थामा त्यहाँबाट निर्यात हुने तेल पानीजहाजमार्फत पर्सियन खाडी हुँदै होर्मुज स्ट्रेट पार गरेर अन्तर्राष्ट्रिय बजारमा पुग्छ ।
तर इरान युद्धका कारण होर्मुज स्ट्रेट बन्द भएपछि साउदीले पूर्व–पश्चिम तेल पाइपलाइनलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गर्दै आएको थियो । उक्त पाइपलाइनले देशको पूर्वी क्षेत्रबाट तेललाई पश्चिमी तटस्थित यान्बु बन्दरगाहसम्म पुर्याउँछ ।
साउदीले यही पाइपलाइनमार्फत दैनिक करिब ५० लाख ब्यारेल तेल यान्बु पठाउँदै आएको थियो । त्यहाँबाट पानीजहाजमार्फत विभिन्न अन्तर्राष्ट्रिय बजारमा तेल निर्यात गर्न सकिन्छ ।
होर्मुजपछि अब लाल सागरको महत्वपूर्ण समुद्री मार्गसमेत प्रभावित हुन सक्ने जोखिम बढेको छ । यमनका हुथी विद्रोहीले बाब अल–मन्डेब क्षेत्रमा आफ्नो प्रभाव बढेको दाबी गर्दै साउदी जहाजलाई उक्त मार्ग प्रयोग गर्न नदिने चेतावनी दिएका छन् ।
हुथी सैन्य प्रवक्ता याह्या सारीले साउदी समर्थित सेनाले बाब अल–मन्डेब क्षेत्रमा रहेको पेरिम टापुको नियन्त्रण गुमाएको दाबी गरेका छन् । हुथीहरूले करिब ५,४०० वर्ग किलोमिटर क्षेत्रमा आफ्नो नियन्त्रण रहेको दाबीसमेत गरेका छन् ।
बाब अल–मन्डेब एसिया र युरोपबीचको महत्वपूर्ण समुद्री व्यापारिक मार्ग हो । तेल बोकेका जहाजहरू यही मार्ग हुँदै लाल सागर पार गरेर युरोपलगायतका अन्तर्राष्ट्रिय बजारमा पुग्ने गर्छन् ।





