काठमाडौं,२७ भदाै । खाना पकाउने ग्यासको सहज आपूर्ति र बढ्दो महँगी नियन्त्रणको माग गर्दै नेकपा (बहुमत)ले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ।
पार्टीका नेता तथा कार्यकर्ताले शुक्रबार माइतीघरदेखि बबरमहलसम्म प्रदर्शन गर्दै सरकारले सर्वसाधारणलाई सहज रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउन नसकेको आरोप लगाए।
प्रदर्शनकारीहरूले ग्यासको कृत्रिम अभाव अन्त्य गर्नुपर्ने, सहज आपूर्ति सुनिश्चित गर्नुपर्ने तथा पछिल्लो समय बढ्दै गएको महँगी नियन्त्रण गर्नुपर्ने माग राखेका थिए।
उनीहरूले ‘भोको पेटले के भन्छ ?–भरी ग्यास दे भन्छ’, ‘महँगीको मार, ग्यासको हाहाकार, कहाँ छ सरकार ?’ र ‘दुई तिहाइको सरकार, जनतालाई ग्यास खोई ?’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए।
नेकपा (बहुमत)का प्रचार–प्रसार प्रमुख गुणराज लुइँटेलले ग्यास डिलरहरूले दिउँसो कृत्रिम अभाव सिर्जना गरी रातिको समयमा महँगो मूल्यमा बिक्री गर्ने गरेको आरोप लगाए।
उनले ग्यासको आपूर्ति र वितरण प्रणालीमा देखिएको समस्या तत्काल समाधान गर्न सरकारसँग माग गर्दै सर्वसाधारणलाई सहज र नियमित रूपमा खाना पकाउने ग्यास उपलब्ध गराउनुपर्ने बताए।
पार्टीले ग्यासको आपूर्ति व्यवस्थापनसँगै बजारमा बढिरहेको महँगी नियन्त्रणका लागि समेत सरकारले प्रभावकारी कदम चाल्नुपर्नेमा जोड दिएको छ।





