वीरगन्ज,२८ भदौ । गत शुक्रबार ४ हजार ८ सय रुपैयाँले घटेको सुनको मूल्य आज फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ हजार २ सय रुपैयाँले बढेर ३ लाख २ हजार २ सय रुपैयाँ पुगेको छ। गत शुक्रबार सुन प्रतितोला ३ लाख १ हजार रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि आज बढेको छ। चाँदी प्रतितोला ६० रुपैयाँले बढेर ४ हजार ६ सय ६० रुपैयाँ पुगेको महासंघले जनाएको छ। गत शुक्रबार चाँदीको मूल्य २ सय ५५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ६ सय रुपैयाँमा झरेको थियो।
नेपाली बजारमा सुनको हालसम्मकै उच्च मूल्य गत माघ १५ गते कायम भएको थियो। उक्त दिन सुनको मूल्य एकैदिन तोलामा २० हजार ५ सय रुपैयाँले बढेर ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको थियो।
त्यसैगरी, चाँदीको हालसम्मकै उच्च मूल्य पनि गत माघ १५ गते नै कायम भएको थियो। उक्त दिन चाँदी प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँ पुगेको थियो।
चाँदीको मूल्यमा हालसम्मकै ठूलो गिरावट भने गत माघ १८ गते देखिएको थियो। उक्त दिन चाँदीको मूल्य प्रतितोला १ हजार ५ सय ६५ रुपैयाँले घटेको थियो।





