spot_img

बीरगन्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र

spot_img
spot_img

बीरगन्ज,२८ भदौ । बीरगन्जको मुख्य सडकलाई दुवैतर्फ २५–२५ मिटर विस्तार गर्ने काम अन्तिम चरणमा पुगेको छ।

सडक डिभिजन कार्यालय हेटौँडाले सडक सीमाभित्र रहेका बाँकी संरचना हटाउने काम तीव्र बनाएसँगै मुख्य सडक विस्तारको काम भोलि सोमबारसम्ममा सम्पन्न गर्ने लक्ष्य लिएको छ।

सडक डिभिजनका प्रतिनिधि इन्जिनियर दुर्गाप्रसादका अनुसार नेपाल टेलिकमको भवन र माइस्थान आसपास देखिएका विवादसमेत समाधान भइसकेका छन्। सडक विस्तारसँगै सम्बन्धित नापजाँचको काम पनि एक साताभित्र सम्पन्न गर्ने तयारी भइरहेको उनले बताए।

हाल सिद्धार्थ बैंक, पमपम बिल्डिङ र हनुमान मन्दिर पछाडिका केही संरचनासहित घरधनीहरूले अधुरो छाडेका सडक सीमाभित्रका भागहरू डोजर लगाएर हटाउने काम भइरहेको छ।

यसअघि सडक डिभिजन कार्यालयले गत वैशाख ६ र ७ गते पहिलो चरणमा गण्डक क्षेत्र र मितेरी पुलबाट डोजर परिचालन गरी करिब १ हजार २ सय घर तथा भवनका अगाडिका संरचना हटाएको थियो।

सडक सीमा खाली गर्न घरधनीहरूलाई २५ दिनको समय दिइए पनि तोकिएको अवधिमा आफैँ संरचना नहटाएपछि गत असार २० गतेदेखि दोस्रो चरणको डोजर अभियान सुरु गरिएको थियो। त्यसयता सडक सीमाभित्रका बाँकी संरचना हटाउँदै मुख्य सडक विस्तारको कामलाई पूर्णता दिने प्रक्रिया अघि बढाइएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय