वीरगन्ज,२८ भदौ । पर्साको पोखरिया नगरपालिका–३ बसन्तपुरस्थित नेपाल राष्ट्रिय प्राथमिक विद्यालयमा नयाँ भवन निर्माण हुने भएको छ।
विद्यालय भवन निर्माणका लागि ७६ लाख ५९ हजार ५ सय रुपैयाँ बराबरको सहयोग परियोजना स्वीकृत भएको लायन्स क्लब अफ पोखरियाका अध्यक्ष तथा नेता नेजामुद्दीन समानीले जानकारी दिए।
लायन्स क्लब्स इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ एसको प्रथम डिस्ट्रिक्ट क्याबिनेट बैठकले विद्यालय भवन निर्माणसम्बन्धी परियोजना स्वीकृत गर्ने निर्णय गरेको हो।
ग्रामीण क्षेत्रका बालबालिकालाई सुरक्षित, व्यवस्थित र गुणस्तरीय शैक्षिक वातावरण उपलब्ध गराउने उद्देश्यले परियोजना अघि बढाइएको हो। नयाँ भवन निर्माण भएपछि विद्यालयको भौतिक पूर्वाधारमा सुधार हुनुका साथै विद्यार्थीलाई अध्ययनका लागि थप सहज वातावरण बन्ने अपेक्षा गरिएको छ।
परियोजना स्वीकृतिका लागि पहल, समन्वय र सहयोग गरेको भन्दै लायन्स क्लब अफ पोखरियाले डिस्ट्रिक्ट ३२५ एसका अध्यक्ष रामबिहारी पाण्डेयसहित सम्पूर्ण पदाधिकारी, सदस्य तथा सहयोगीप्रति आभार व्यक्त गरेको छ।
बैठककै क्रममा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष समानीलाई लायन्स क्लबको पिन लगाएर सम्मानसमेत गरिएको थियो। सम्मानबाट आफू खुसी र गौरवान्वित भएको बताउँदै समानीले आफूले पाएको माया, विश्वास र सम्मानप्रति आभार व्यक्त गरे।





