spot_img

तीन वर्षभित्र मधेसमा इन्जिनियरिङको पठनपाठन सुरु हुन्छ : शिक्षामन्त्री पोखरेल

spot_img
spot_img

वीरगन्ज । मधेस प्रदेशमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गत इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) को नयाँ क्याम्पस स्थापना गर्ने तयारी अघि बढाइएको छ।

शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार मधेस प्रदेशमै इन्जिनियरिङ शिक्षाको पहुँच विस्तार गर्ने उद्देश्यले क्याम्पस स्थापनाको प्रक्रिया अघि बढाइएको हो। उनले आगामी तीन वर्षभित्र नयाँ क्याम्पसमा इन्जिनियरिङको पठनपाठन सुरु गर्ने गरी सरकारले तयारी गरिरहेको बताए।

हाल मधेस प्रदेशबाट ठूलो संख्यामा विद्यार्थी इन्जिनियरिङ अध्ययनका लागि काठमाडौंलगायत अन्य प्रदेशमा जाने गरेका छन्। प्रदेशमै प्राविधिक शिक्षाको अवसर उपलब्ध गराउन सके विद्यार्थी तथा अभिभावकमाथिको अतिरिक्त आर्थिक भार कम हुनुका साथै बसोबास र आवागमनको समस्या पनि घट्ने सरकारको अपेक्षा छ।

मन्त्री पोखरेलका अनुसार प्रस्तावित क्याम्पस स्थापनाका लागि उपयुक्त स्थान छनोट गर्ने प्रक्रिया सुरु भइसकेको छ। स्थान छनोटका लागि विशेष अध्ययन समिति गठन गरिने र समितिको प्रतिवेदनका आधारमा क्याम्पस स्थापनाको स्थान टुंगो लगाइनेछ।

क्याम्पस निर्माण र सञ्चालनको विस्तृत समयसीमा भने तय भइसकेको छैन। तर, आगामी तीन वर्षभित्र पठनपाठन सुरु गर्ने लक्ष्यसहित आन्तरिक तयारी भइरहेको मन्त्री पोखरेलले जानकारी दिए।

सरकारले प्रस्तावित क्याम्पसलाई केवल परम्परागत शिक्षामा सीमित नराखी अनुसन्धान तथा नवप्रवर्तनको केन्द्रका रूपमा विकास गर्ने योजना बनाएको छ। आधुनिक प्रविधि, वैज्ञानिक अनुसन्धान, आविष्कार र त्यसको व्यावहारिक प्रयोगलाई प्राथमिकता दिने गरी क्याम्पसको संरचना तथा शैक्षिक कार्यक्रम अघि बढाउने तयारी छ।

मधेसमा आईओईको नयाँ क्याम्पस स्थापना भएपछि प्रदेशका विद्यार्थीले आफ्नै क्षेत्रमा गुणस्तरीय इन्जिनियरिङ शिक्षा हासिल गर्ने अवसर पाउने सरकारको विश्वास छ। साथै स्थानीयस्तरमै अनुसन्धान र प्राविधिक नवप्रवर्तनको वातावरण निर्माण हुने अपेक्षा गरिएको छ।

हाल त्रिवि अन्तर्गत आईओईका आंगिक क्याम्पसहरू पुल्चोक, थापाथली, धरान, चितवन र पोखरामा सञ्चालनमा छन्। मधेसमा नयाँ क्याम्पस स्थापना भएमा नेपालमा इन्जिनियरिङ शिक्षाको भौगोलिक पहुँच थप विस्तार हुनेछ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय