इटहरी,२८ भदौ । सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल गएराति करिब २ः५० बजे अनियन्त्रित भएर सडकको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनालाई प्रहरी चौकी बालग्राम, इलाका प्रहरी कार्यालय इटहरी र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको टोलीले उद्धार गरी राति ३ः२३ बजे धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याएको थियो।
उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा सुनसरीको इनरुवा नगरपालिका–३ का २९ वर्षीय पारस थापा र सोही स्थानका ३४ वर्षीय सागर रेग्मी रहेका छन्। रेग्मी जिल्ला प्रशासन कार्यालय सुनसरीमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ।
अस्पतालका अनुसार रेग्मीको बिहान ४ः५२ बजे र थापाको ५ः११ बजे उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार मोटरसाइकल तीव्र गतिमा रहेका कारण चालकले नियन्त्रण गुमाउँदा दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ।





