काठमाडौं,२८ भदाै । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले काठमाडौंको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउनुपर्ने बताएका छन्। उनले सवारीसाधनको बीचमा जोखिम मोलेर उभिई हात हल्लाउँदै ट्राफिक व्यवस्थापन गर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्।
आइतबार काठमाडौं महानगर प्रहरी बलको ३४औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै आईजीपी कार्कीले एआई–सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग बढाएर ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने बताए।
उनका अनुसार एआई प्रविधिसहितका सीसीटीभी जडानसँगै बस स्टप, बसपार्क, पार्किङस्थल र सडक व्यवस्थापनलाई एकीकृत रूपमा सुधार गर्न आवश्यक छ। ट्राफिक प्रहरीलाई जोखिमपूर्ण अवस्थामा सडकमा उभ्याएर व्यवस्थापन गर्नेभन्दा प्रविधिको प्रयोगमार्फत वैज्ञानिक प्रणाली विकास गर्नुपर्ने उनको भनाइ छ।
कार्कीले काठमाडौं महानगरपालिकासँग सहकार्य गरी फुटपाथ र पार्किङ व्यवस्थापनका साथै आपत्कालीन उद्धार प्रणालीलाई प्रभावकारी बनाउनुपर्ने बताए।
राजधानीमा बढ्दो जनसंख्या, तीव्र शहरीकरण र सवारी चापका कारण सार्वजनिक स्थान व्यवस्थापनसँगै फोहोरमैला, वातावरण संरक्षण, सम्पदा संरक्षण तथा विपद् व्यवस्थापनमा समेत स्थानीय तह र नेपाल प्रहरीबीच सहकार्य आवश्यक रहेको उनले बताए।
आईजीपी कार्कीले नेपाल प्रहरी र स्थानीय तहबीच भौतिक पूर्वाधार निर्माण तथा सुरक्षा व्यवस्थापनमा सहकार्य भइरहेको जानकारी दिए। आवश्यकताअनुसार स्थानीय तहले प्रहरीलाई जग्गा तथा भवन उपलब्ध गराउने, प्रहरी कार्यालय निर्माण तथा मर्मतमा सहयोग गर्ने र सवारीसाधन तथा विपद् उद्धार सामग्री उपलब्ध गराउन सक्ने उनले बताए।
त्यस्तै, स्थानीय तहलाई सीसीटीभी जडान तथा विस्तारमा समेत सहयोग गर्न आग्रह गरिएको उनले जानकारी दिए। यसका लागि ७५३ वटै स्थानीय तहलाई सम्बन्धित संघीय मन्त्रालयमार्फत नेपाल प्रहरीसँग समन्वय गर्न पत्राचार भइरहेको कार्कीले बताए।
उनले स्थानीय तह र प्रहरीबीचको सहकार्यले प्रहरी सेवा तथा महानगर प्रहरी सेवाको प्रभावकारिता थप बढाउने विश्वास व्यक्त गरे।
कार्कीले नागरिकले सफा सडकमा हिँड्न पाउने र फुटपाथ अवरोधमुक्त रूपमा प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्न काठमाडौं महानगरपालिकाले गरिरहेको कामको प्रशंसा गरे। राजधानीको शहरी व्यवस्थापनमा महानगरपालिकाको कार्यसम्पादनले समग्र शहरी व्यवस्थापनको स्तरसमेत प्रतिबिम्बित गर्ने उनको भनाइ थियो।





