काठमाडौँ,२८ भदौ । भोटेकोशी बाढीका कारण रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालयमा क्षति पुगेको छ। तीमध्ये ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। विद्यालयका भवन तथा शैक्षिक सामग्रीमा गरी कुल रु ९३ करोड ७३ लाख बराबरको क्षति भएको छ।
राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति आवश्यकता मूल्याङ्कन (आरडिएनए) प्रतिवेदनअनुसार बाढीबाट १८ विद्यालयका ५६ वटा भवन प्रभावित भएका छन्। ती भवनका १५२ वटा कोठामा आंशिक र १५६ वटा कोठामा पूर्ण क्षति पुगेको छ।
प्रतिवेदनअनुसार रसुवाको गोसाइँकुण्ड गाउँपालिकाको एउटा विद्यालयका दुई भवनका ११ कोठा पूर्ण रूपमा क्षतिग्रस्त हुँदा रु ३ करोड ७५ लाख बराबरको क्षति भएको छ। उत्तरगया गाउँपालिकाका तीन विद्यालयका छ भवनका ३६ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। त्यहाँ रु १२ करोड २९ लाख बराबरको क्षति भएको छ।
नुवाकोटको विदुर नगरपालिकाका नौ विद्यालय प्रभावित भएका छन्। ३२ भवनमा क्षति पुग्दा ६१ कोठा आंशिक र ८९ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। विदुरमा मात्रै रु ३६ करोड ६२ लाख बराबरको क्षति भएको प्रतिवेदनमा उल्लेख छ।
यस्तै, धादिङको गल्छी गाउँपालिकाका तीन विद्यालयका १० भवनमा क्षति पुगेको छ। ती विद्यालयका ७७ कोठा आंशिक र आठ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। यहाँ रु १० करोड ६१ लाख बराबरको क्षति भएको छ।
धादिङकै बेनिघाट रोराङ गाउँपालिकाको एउटा विद्यालयका दुई भवनका १२ कोठा पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। उक्त विद्यालयमा रु ४ करोड १० लाख बराबरको क्षति भएको छ। सिद्धलेक गाउँपालिकाको एउटा विद्यालयका चार भवनका १४ कोठामा आंशिक क्षति पुगेको छ भने त्यहाँ रु १ करोड ४३ लाख बराबरको क्षति भएको छ।
प्रतिवेदनअनुसार विद्यालयमा रहेका शैक्षिक सामग्रीमा मात्रै रु २४ करोड ९३ लाख बराबरको क्षति पुगेको छ।





