spot_img

घरमै सुत्केरी हुँदा १७ वर्षीया किशोरी र नवजात शिशुको मृत्यु

spot_img
spot_img

काठमाडाैं,२८ भदौ । बाँकेको कोहलपुर नगरपालिका–१३ भरैयामा १७ वर्षीया किशोरीको सुत्केरी हुने क्रममा मृत्यु भएको छ। घरमै पहिलो सन्तान जन्माउने क्रममा लालमती पुन मगरको मृत्यु भएको हो। नवजात शिशुको पनि जन्मिएलगत्तै मृत्यु भएको छ।

वडासदस्य बलबहादुर घर्तीका अनुसार शनिबार बिहान करिब ५ः३० बजे लालमतीले घरमै बच्चा जन्माएकी थिइन्। बच्चा जन्मिएपछि अत्यधिक रक्तस्रावका कारण उनको अवस्था गम्भीर बनेपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुर लगिएको थियो। अस्पताल पुर्‍याइएको केही समयपछि बिहान ७ः१० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।

लालमतीलाई केही दिनदेखि स्वास्थ्य समस्या रहेको र पेट दुखिरहेको परिवारले जनाएको छ। शनिबार बिहान एक्कासि सुत्केरी व्यथा लागेपछि घरमै प्रसूति गराउँदा आमा र नवजात शिशु दुवैको मृत्यु भएको हो।

लालमतीका परिवार गत वर्ष सल्यानबाट कोहलपुर आएका थिए। वडासदस्य घर्तीका अनुसार उनको विवाह सल्यानमै भएको थियो। कोहलपुर–१३ लाई २०७७ सालमा बालविवाहमुक्त वडा घोषणा गरिएको थियो। तर, कम उमेरमा विवाह तथा गर्भधारणका कारण किशोरीको मृत्यु भएपछि बालविवाहमुक्त घोषणाको प्रभावकारिता र कार्यान्वयनमाथि प्रश्न उठेको छ।

कानुनले २० वर्षभन्दा कम उमेरमा विवाह गर्न निषेध गरेको छ। स्वास्थ्यकर्मीका अनुसार कम उमेरमा गर्भधारण गर्दा आमा र शिशु दुवैमा स्वास्थ्य जोखिम बढ्न सक्छ। बालविवाह तथा कम उमेरमा गर्भधारण रोक्न स्थानीय तह, जनप्रतिनिधि र समुदायस्तरबाट थप प्रभावकारी पहल आवश्यक रहेको सरोकारवालाको भनाइ छ।

कोहलपुर नगरपालिका–१२ र १३ लाई ‘हामी सबैको प्रतिबद्धताः बालविवाहविरुद्ध साझा प्रतिबद्धता’ भन्ने नारासहित २०७७ चैतमा बालविवाहमुक्त वडा घोषणा गरिएको थियो। तर, सोही वडामा किशोरी आमा र नवजात शिशुको मृत्यु भएको घटनाले बालविवाहमुक्त घोषणालाई व्यवहारमा कार्यान्वयन गर्ने चुनौती अझै रहेको देखाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय