बीरगन्ज,२८ भदौ । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–५ बकुलियाबाट एकै परिवारका तीन बालबालिका सम्पर्कविहीन भएका छन्।
भारत स्थायी घर भई हाल बकुलियामा बस्दै आएका मुकेश पासवानका १० वर्षीया छोरी काजल, ७ वर्षीया छोरी सुन्दरी र ५ वर्षीय छोरा धिरज आइतबार बिहान करिब ५ बजेदेखि सम्पर्कविहीन भएका हुन्।
परिवारका अनुसार तीनै जना बिहान घरबाट निस्किएका थिए। दिउँसो ३ बजेसम्म पनि उनीहरू घर नफर्किएपछि परिवारले खोजीका लागि प्रहरीमा निवेदन दिएको छ।
बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मिनबहादुर घलेका अनुसार बालबालिकाको खोजी भइरहेको छ। प्रहरीले उनीहरूको तस्वीर र हुलियासहित विभिन्न प्रहरी कार्यालयमा जानकारी गराएको छ।
बालबालिकाको खोजीका लागि जीतपुरस्थित इलाका प्रहरी कार्यालयको टोलीसमेत परिचालन गरिएको प्रहरीले जनाएको छ।





