नुवाकोट,२८ भदौ । नुवाकोटको विदुर नगरपालिका–३ सिर्खालीमा भोटेकोशी बाढीका कारण मृत्यु भएकी एक महिलाको शवबाट सुनका गहना निकालेर चोरी गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार पक्राउ पर्नेमा विदुर नगरपालिका–३ का दिपेश भुजेल, सुरेश रिमाल, दिनेश पण्डित, निराजन थापामगर र राजेश रिमाल छन्। उनीहरूलाई चार दिनअघि सिर्खालीबाटै पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता डीएसपी एक्बाल हवारीले पक्राउ परेका पाँचै जनामाथि मृतक महिलाको शवबाट सुनका गहना निकालेर लगेको आरोपमा अनुसन्धान भइरहेको जानकारी दिए।
उनका अनुसार जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर उनीहरूमाथि अनुसन्धान अघि बढाइएको छ।
बाढीपछि शवबाट गहना चोरी भएको यो नुवाकोटको पहिलो घटना भने होइन। यसअघि चितवनमा पनि मृतकको शवबाट गहना निकालेर लैजाने दुई जना पक्राउ परेका थिए। भदौ ११ गते भरतपुर महानगरपालिका–१ पोखरा बसपार्क क्षेत्रबाट शवबाट गहना झिकेको आरोपमा मदन गुरुङ र उमेश चौधरी पक्राउ परेका थिए।
नुवाकोटमा भदौ १० गतेको भोटेकोशी बाढीपछि बेपत्ता तथा मृतकको शव भेटिने क्रम अझै जारी छ। प्रहरीका अनुसार विदुर नगरपालिका–३ मा बाढीमा ज्यान गुमाएकी एक महिलाको शवसमेत फेला परेको थियो।
यसैबीच, पक्राउ परेका पाँच जनालाई छुटाउन केही राजनीतिक दलका नेताले प्रहरीमाथि दबाब दिएको स्रोतले जनाएको छ।





