spot_img

एकताको महाधिवेशन नभएसम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने शेखर कोइरालाको अडान

spot_img
spot_img

काठमाडौं,२८ भदौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकता कायम नभएसम्म कुनै पनि महाधिवेशनमा सहभागी नहुने बताएका छन्। संस्थापन र इतर समूहले छुट्टाछुट्टै महाधिवेशन गर्ने अवस्था आए आफू त्यसमा सहभागी नहुने उनको अडान छ।

महाधिवेशनका छुट्टाछुट्टै कार्यतालिका सार्वजनिक भएपछि आफू निकट नेता तथा कार्यकर्ताले कुन महाधिवेशनमा सहभागी हुने भनेर सोध्न थालेपछि कोइरालाले पार्टी एक नभएसम्म कुनै पनि महाधिवेशनमा नजाने स्पष्ट पारेका हुन्।

उनका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार कोइरालाले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम गर्न निरन्तर प्रयास गर्ने बताएका छन्। साथै, पार्टी एकताका लागि देशभर अभियान सञ्चालन गर्ने उनको तयारी छ।

थपलियाले भने, “पार्टी एक नभई गरिने कुनै पनि महाधिवेशनमा उहाँ सहभागी हुनुहुन्न। पार्टी एकताका लागि देशभर अभियान चलाउनुहुन्छ।”

कोइरालाले आफूलाई भेट्न आउने नेता तथा कार्यकर्तासँग पनि कांग्रेस विभाजित भएर महाधिवेशनमा जानु उचित नहुने बताउँदै आएका छन्। पार्टीभित्रको विवाद अदालतसम्म पुगेको र कांग्रेस कमजोर अवस्थामा रहेका बेला दुई चिरामा विभाजित भएर महाधिवेशन गर्नु आत्मघाती हुने उनको भनाइ छ।

उनले कांग्रेसको आन्तरिक विवादका कारण देशका मुद्दा ओझेलमा परेको भन्दै पार्टीलाई फुटाएर वा एक–अर्कालाई निषेध गरेर अघि बढ्नुभन्दा एकताको बाटो रोज्नुपर्ने धारणा राखेका छन्।

“अहिलेको आवश्यकता फुटेको कांग्रेस होइन, जुटेको कांग्रेस हो,” कोइरालाको भनाइ उद्धृत गर्दै थपलियाले भने, “विवादमा अल्झिनुभन्दा एकताको नारासहित जनतामाझ जाने हो।”

कांग्रेसभित्र आन्तरिक विवाद चर्किरहेका बेला र महाधिवेशनको मिति नजिकिँदै गर्दा कोइरालाको यस्तो धारणा आएको हो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय