spot_img

एकताको महाधिवेशन नभए कुनै पनि महाधिवेशनमा सहभागी नहुने शेखर कोइरालाको अडान

spot_img
spot_img

काठमाडौं,२८ भदाै । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टी एकता कायम नभएसम्म आफू कुनै पनि समूहले आयोजना गर्ने महाधिवेशनमा सहभागी नहुने स्पष्ट पारेका छन्।

कांग्रेसभित्र संस्थापन र इतर समूहबाट अलग–अलग महाधिवेशनको तयारी भइरहेका बेला कोइरालाले आफूले कुनै पक्षको महाधिवेशन रोजेर सहभागी नहुने बताएका हुन्। उनको भनाइ उद्धृत गर्दै निकट नेताहरूले पार्टी विभाजनको अवस्थामै महाधिवेशन गर्नु पार्टीका लागि आत्मघाती हुने बताएका छन्।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार पार्टी एक नभई हुने कुनै पनि महाधिवेशनमा कोइराला सहभागी हुने छैनन्।

“उहाँ पार्टी एक नभई गरिने कुनै पनि महाधिवेशनमा सहभागी हुनुहुन्न,” थपलियाले भने, “पार्टी एकताका लागि देशभर अभियान चलाउनुहुन्छ।”

पछिल्लो समय आफूलाई भेट्न आउने नेता तथा कार्यकर्तासँग पनि कोइरालाले पार्टीभित्रको विवाद समाधान गरी एकता कायम गर्न निरन्तर पहल गर्ने बताउँदै आएका छन्। सबै नेता–कार्यकर्ता सहभागी हुने वातावरण नबनेसम्म महाधिवेशनमा सहभागी नहुने उनको अडान रहेको थपलियाले बताए।

कोइरालालाई भेट्न पुगेका एक नेताका अनुसार उनले कांग्रेसको वर्तमान अवस्थाप्रति चिन्ता व्यक्त गर्दै पार्टी विभाजित भएर महाधिवेशनमा जानु उचित नहुने बताएका छन्।

ती नेताका अनुसार कोइरालाले पार्टीको विवाद एकातिर अदालतसम्म पुगेको र अर्कोतिर कांग्रेस इतिहासकै कमजोर अवस्थामा पुगेको उल्लेख गर्दै यस्तो अवस्थामा दुई चिरामा विभाजित भएर महाधिवेशन गर्नु आत्मघाती हुने धारणा राखेका थिए।

उनले देशका महत्वपूर्ण मुद्दामा केन्द्रित हुनुपर्ने समयमा कांग्रेस आन्तरिक विवाद र टुटफुटमा अल्झिएको भन्दै पार्टी विभाजनको अवस्थामा महाधिवेशन भए कुनै पनि पक्षले प्रभावकारी रूपमा राष्ट्रिय मुद्दामा संघर्ष गर्न नसक्ने बताएका छन्।

कोइरालाले पार्टीभित्रको विवादलाई थप चर्काउनेभन्दा एकताको वातावरण निर्माण गर्न देशव्यापी अभियान सञ्चालन गर्ने तयारी गरेको थपलियाले बताए।

“अहिलेको आवश्यकता फुटेको कांग्रेस होइन, जुटेको कांग्रेस हो,” थपलियाले भने, “त्यसैले विवादमा अल्झिनुभन्दा एकताको नारासहित जनतामाझ जाने उहाँको भनाइ छ।”

कांग्रेसभित्र आन्तरिक विवाद चर्किँदै गएको र महाधिवेशनको तयारी तीव्र भइरहेका बेला कोइरालाको पछिल्लो अडानलाई पार्टी एकताका लागि दबाब सिर्जना गर्ने रणनीतिका रूपमा हेरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय