spot_img

बालबालिकामा गरिएको लगानी राष्ट्रको सुखद भविष्यका लागि हो : प्रधानमन्त्री शाह

spot_img
spot_img

काठमाडौँ,२९ भदाै । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकाको संरक्षण, शिक्षा, स्वास्थ्य र विकासमा गरिने लगानी राष्ट्रको सुखद भविष्य निर्माणका लागि भएको बताएका छन्।

राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले नेपाल तथा विदेशमा रहेका सम्पूर्ण नेपाली बालबालिकाको सुख, समृद्धि, सुस्वास्थ्य, सफलता र उज्ज्वल भविष्यको कामना गरेका छन्।

यस वर्ष ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने राष्ट्रिय नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदैछ। प्रधानमन्त्री शाहले बालबालिकाको वर्तमान सुरक्षित, स्वस्थ र अधिकारसम्पन्न बनाउन सके मात्र समृद्ध राष्ट्रको भविष्य सुनिश्चित गर्न सकिने बताएका छन्।

उनले बालअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा निरन्तर काम गर्ने अभिभावक, शिक्षक, जनप्रतिनिधि, राष्ट्रसेवक, नागरिक समाज, विकास साझेदार, सञ्चार क्षेत्रलगायत सबै सरोकारवालाप्रति सम्मान व्यक्त गरेका छन्।

नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि, १९८९ अनुमोदन गरी बालबालिकामाथि भेदभाव नगर्ने, उनीहरूको सर्वोत्तम हितलाई प्राथमिकता दिने तथा जीवन, विकास र आफ्नो विचार व्यक्त गर्ने अधिकार सुनिश्चित गर्ने अन्तर्राष्ट्रिय प्रतिबद्धता जनाएको प्रधानमन्त्रीले स्मरण गरेका छन्।

यी अधिकारलाई नेपालको संविधानको धारा ३९, राष्ट्रिय बालबालिका नीति २०८० तथा बालबालिकासम्बन्धी ऐन २०७५ ले मौलिक तथा कानुनी अधिकारका रूपमा सुनिश्चित गरेको उनले बताएका छन्।

अबको प्राथमिकता संविधान र कानुनमा सुनिश्चित गरिएका अधिकारलाई प्रत्येक बालबालिकाले आफ्नो दैनिक जीवनमा वास्तविक रूपमा अनुभूति गर्न सक्ने अवस्था निर्माण गर्नु रहेको प्रधानमन्त्री शाहको भनाइ छ। त्यसका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, सहकार्य र उत्तरदायित्व आवश्यक रहेको उनले बताएका छन्।

प्रधानमन्त्री शाहले सङ्घीय सरकारले राष्ट्रिय नीति, कानुनी तथा संस्थागत आधार सुदृढ गर्ने, प्रदेश सरकारले समन्वय तथा सेवाको विस्तार गर्ने र स्थानीय तहले बालबालिकाको सबैभन्दा नजिकको सरकारका रूपमा जोखिम पहिचान, संरक्षण, सेवा प्रवाह तथा बालमैत्री वातावरण निर्माण गर्ने गरी तीनै तहका प्रयासलाई परिणाममुखी बनाउनुपर्नेमा जोड दिएका छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय