काठमाडौं,२९ भदाै । नेपाल वायुसेवा निगमको अन्तर्राष्ट्रिय उडान फेरि प्रभावित भएको छ। निगमको सञ्चालनमा रहेको एकमात्र वाइडबडी जहाज जापानको नारिता विमानस्थलमा प्राविधिक समस्या आएपछि रोकिएको हो।
आइतबार राति ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जापानका लागि उडेको जहाज सोमबार बिहान नारिताबाट काठमाडौं फर्किनुपर्ने थियो। निर्धारित तालिकाअनुसार स्थानीय समय बिहान साढे १० बजे नारिताबाट उडेर दिउँसो ३ बजे काठमाडौं अवतरण गर्ने योजना थियो। तर इन्जिनमा समस्या देखिएपछि जहाज नारितामै रोकिएको निगमले जनाएको छ।
निगमका अनुसार जहाजको दायाँतर्फ रहेको नम्बर २ इन्जिनका २६ वटा ब्लेडमध्ये एउटा ब्लेडमा क्षति पुगेको छ। ब्लेडमा क्षति भएपछि आवश्यक मर्मत नगरी जहाज उडाउन नसकिने अवस्था आएको हो। यससँगै काठमाडौं फर्किनुपर्ने २२६ यात्रुको उडान अनिश्चित बनेको छ।
जहाज जापानमै रोकिएपछि निगमका अन्य अन्तर्राष्ट्रिय उडानमा समेत असर पर्ने भएको छ। सोमबार राति दोहाका लागि तय भएको २६९ यात्रुको उडान तथा मंगलबार बिहान दोहाबाट काठमाडौं फर्किने २६९ यात्रुको उडान तालिका प्रभावित हुने देखिएको छ।
दुई वाइडबडी नै समस्यामा
निगमसँग चारवटा जहाज रहे पनि अन्तर्राष्ट्रिय उडानमा प्रयोग हुने दुईवटा वाइडबडीमध्ये अहिले एउटा मात्र सञ्चालनमा थियो। त्यही जहाज पनि जापानमा रोकिएपछि निगमलाई अन्तर्राष्ट्रिय उडान व्यवस्थापन गर्न थप समस्या भएको छ।
अर्को वाइडबडी जहाज लामो समयदेखि इटालीमा मर्मतका लागि रोकिएको छ। नियमित उडानपछि ‘फेरी फ्लाइट’मार्फत मर्मतका लागि इटाली पठाइएको उक्त जहाजको इन्जिनमा समस्या देखिएपछि त्यहाँ मर्मत भइरहेको हो।
निगमले उक्त जहाज भदौ १५ सम्ममा नेपाल फर्काउने योजना बनाएको थियो। तर निर्धारित समय बितिसक्दा पनि जहाज नेपाल फर्कन सकेको छैन।
पार्ट्स जुटाएर जहाज फर्काउने तयारी
जापानमा रोकिएको जहाजलाई तत्काल मर्मत गरी नेपाल ल्याउने प्रयास भइरहेको निगमले जनाएको छ।
निगमका प्राविधिक प्रवक्ता देवेन्द्र पुनका अनुसार नारितामै आवश्यक पार्ट्सको व्यवस्था गर्ने प्रयास भइरहेको छ। क्षतिग्रस्त ब्लेडका लागि थाई एयरसँग उपलब्ध पार्ट्स मागेर पछि सोधभर्ना गर्ने वा नेपालबाटै ब्लेड पठाउने विषयमा छलफल भइरहेको उनले बताए।
थाई एयरसँग आवश्यक ब्लेड उपलब्ध नभए काठमाडौंबाट जतिसक्दो छिटो पार्ट्स पठाउने तयारी निगमको छ। ब्लेड फेरेर जहाजलाई उडानयोग्य बनाएपछि नेपाल फर्काइने पुनले जानकारी दिए।
निगमले हाल चारवटा जहाजबाट विभिन्न १० वटा अन्तर्राष्ट्रिय तथा आन्तरिक गन्तव्यमा उडान सञ्चालन गर्दै आएको छ। तर जहाजको नियमित मर्मत र पटक–पटक देखिने प्राविधिक समस्याका कारण निगमको उडान सेवा लामो समयदेखि प्रभावित हुँदै आएको छ।
एउटा वाइडबडी इटालीमा र अर्को जापानमा रोकिएपछि निगमसँग अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि तत्काल पर्याप्त जहाज उपलब्ध छैनन्। यसबाट यात्रुको टिकट व्यवस्थापन, उडान तालिका तथा निगमको समग्र सेवा प्रवाहमा थप असर पर्ने देखिएको छ।





