काठमाडौं,२९ भदाै । फिलिपिन्सको दक्षिणी बाङ्सामोरो स्वायत्त क्षेत्रमा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा गोलीकाण्ड हुँदा तीन जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन्।
प्रहरीका अनुसार आइतबार राति कोटाबाटो सहरको एक मतदान केन्द्रमा मतदानका लागि लाइनमा बस्ने विषयलाई लिएर दुई प्रतिद्वन्द्वी राजनीतिक समूहका समर्थकबीच विवाद भएको थियो।
विवाद सुरुमा भनाभन र धकेलाधकेलमा सीमित रहे पनि पछि हात हालाहालको अवस्था सिर्जना भएको थियो। त्यसपछि एकाएक गोली चलेको प्रहरीले जनाएको छ। घटनामा तीन जनाको मृत्यु भएको र १५ जना घाइते भएका छन्। घाइतेहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
बाङ्सामोरो स्वायत्त क्षेत्रको पहिलो निर्वाचित संसद् चयनका लागि सोमबारदेखि निर्वाचन सुरु भएको हो। निर्वाचनको पूर्वसन्ध्यामा भएको हिंसात्मक घटनाले सुरक्षा व्यवस्थामाथि थप चुनौती थपिएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार निर्वाचनमा २० लाखभन्दा बढी मतदाता सहभागी हुँदैछन्। १३ राजनीतिक दलका उम्मेदवार ८० संसदीय सिटका लागि प्रतिस्पर्धामा छन्।
निर्वाचनलाई सुरक्षित बनाउन बाङ्सामोरो क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ। मतदान केन्द्र तथा संवेदनशील क्षेत्रमा २० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको अधिकारीहरूले बताएका छन्।
सम्भावित हिंसा नियन्त्रण गर्न द्रुत प्रतिक्रिया टोलीसमेत तयारी अवस्थामा राखिएको छ। निर्वाचन अवधिभर थप हिंसात्मक घटना हुन नदिन सुरक्षा निकायले संवेदनशील क्षेत्रको निगरानी बढाएको जनाएको छ।





