काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशनअन्तर्गत असोज १५ गतेदेखि सुरु हुने वडा अधिवेशनमा सहभागी हुन नेता तथा कार्यकर्तालाई आह्वान गरेको छ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा गठित १५औँ महाधिवेशन केन्द्रीय तयारी समितिले सोमबार चुनदेवीस्थित सम्पर्क कार्यालयमा पत्रकार सम्मेलन गर्दै असोज १५ देखि सुरु हुने अधिवेशन प्रक्रियामा सहभागी हुन आग्रह गरेको हो।
इतर समूहले विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको समूहले असोज ३ गतेदेखि अघि बढाउने घोषणा गरेको महाधिवेशन प्रक्रिया भने स्वीकार नगर्ने जनाएको छ।
पत्रकार सम्मेलनमा कोइरालाले वडा अधिवेशनबाट सुरु हुने विभिन्न तहका अधिवेशनमा सहभागी हुँदै पार्टीको १५औँ महाधिवेशन सम्पन्न गर्ने प्रक्रियामा अघि बढ्न नेता तथा कार्यकर्तालाई आग्रह गरे।
कांग्रेसको संस्थापन समूहले १५औँ महाधिवेशन मंसिर १६ देखि १९ गतेसम्म गर्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ। त्यसको विकल्पमा इतर समूहले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन गर्ने मिति तय गरेको छ।
इतर समूहले विशेष महाधिवेशनका कारण पार्टीभित्र थप विवाद उत्पन्न भएको दाबी गर्दै संवाद, सहमति र सहकार्यका आधारमा महाधिवेशन सम्पन्न गर्नुपर्नेमा जोड दिएको छ।
कोइरालाद्वारा जारी विज्ञप्तिमा पार्टीको लोकतान्त्रिक मूल्य–मान्यता, मूल मर्म र राष्ट्रिय दायित्वलाई केन्द्रमा राखेर सहमति तथा एकताका आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न आफूहरूले सुरुदेखि नै प्रयास गर्दै आएको उल्लेख छ।
पार्टीलाई विभाजनतर्फ लैजाने गतिविधिबाट जोगाउन र संगठनको आन्तरिक एकता कायम राख्न संवाद तथा सहमतिमार्फत समाधान खोज्न आग्रह गरिए पनि त्यसलाई सकारात्मक रूपमा नलिइएको इतर समूहको आरोप छ।
विशेष महाधिवेशनको नाममा पार्टीभित्र थप विवाद सिर्जना नगर्न र कांग्रेसको एकतामा थप क्षति नपुर्याउन गरिएको आग्रहलाई समेत बेवास्ता गरिएको कोइरालाले बताएका छन्।
इतर समूहले संस्थापन पक्षले महाधिवेशनको मिति र कार्यतालिका एकलौटी रूपमा अघि बढाएको आरोप लगाएको छ। साथै, कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले त्यसको फैसला नआउँदै महाधिवेशन प्रक्रिया अघि बढाउनु उचित नहुने उसको भनाइ छ।
सर्वोच्च अदालतको निर्णयको प्रतीक्षा नगरी संस्थापन पक्षले अघि बढाएको महाधिवेशन प्रक्रिया स्वीकार गर्न नसकिने इतर समूहले स्पष्ट पारेको छ।





