spot_img

मधेशमा रास्वपाको संगठनात्मक विवाद समाधान गर्न विशेष टोली सक्रिय

spot_img
spot_img

काठमाडौँ,२९ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मधेश प्रदेशमा देखिएको संगठनात्मक विवाद समाधान गर्न विशेष टोली परिचालन गरेको छ।

रास्वपाको प्रथम महाधिवेशन गत असारमा चितवनमा सम्पन्न भए पनि मधेश प्रदेशका आठ जिल्लामध्ये पर्साबाहेक अन्य सात जिल्लामा अझै अधिवेशन हुन सकेको छैन। यही विवाद समाधान गरी अधिवेशनको वातावरण बनाउन पार्टीले सहमहामन्त्री हरि ढकालको संयोजकत्वमा ‘मधेश प्रदेश संगठन अडिट समिति’ गठन गरेको हो।

भदौ ५ गते बसेको केन्द्रीय समिति बैठकले गठन गरेको समितिमा सुरेन्द्र चौधरी, अशोककुमार चौधरी, प्रमोद न्यौपाने, जगदीश खरेल र पुनम अग्रवाल सदस्य छन्। समितिले स्थलगत रूपमा पुगेर सम्बन्धित नेता तथा कार्यकर्तासँग छलफल गर्दै संगठनको अवस्था र विवादको कारणबारे अध्ययन गरिरहेको छ।

टोलीले पर्साबाट स्थलगत छलफल सुरु गरी बारा, रौतहट, सर्लाही, जनकपुर र महोत्तरीमा अडिट सम्पन्न गरिसकेको छ। सप्तरीमा सोमबार छलफल गर्ने र त्यसपछि काठमाडौं फर्किने तयारी छ।

रास्वपाका एक नेताका अनुसार मधेशमा निर्वाचित सांसद र पार्टी संगठनबीचको आन्तरिक रस्साकस्सीका कारण अधिवेशन प्रक्रिया अघि बढ्न नसकेको हो। पर्सामा पनि सांसद र संगठनबीच विवाद देखिएपछि तोकिएको मितिभन्दा एक दिन ढिला अधिवेशन भएको थियो।

सातै जिल्लामा स्थलगत छलफल सकेपछि समितिले विवाद समाधानका उपायसहितको प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाउनेछ। त्यसपछि सभापति रवि लामिछाने मधेश प्रदेश पुगेर समितिले पहिचान गरेका समस्या र सुझाएका समाधानका आधारमा विवाद समाधानको पहल गर्ने तयारीमा छन्।

रास्वपाले मधेशका बाँकी जिल्लामा अधिवेशन सम्पन्न गराउने उद्देश्यसहित संगठनात्मक विवाद समाधानलाई प्राथमिकतामा राखेको जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय