बीरगन्ज,३० भदाै । भ्रष्टाचार मुद्दामा विशेष अदालतबाट सफाइ पाएपछि वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंह पुनः पदमा फर्किएका छन् । तर, अदालतको सफाइसँगै उनको पक्ष र विपक्षमा राजनीतिक तथा कानुनी बहस भने थप चर्किएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अर्काकी छोरीलाई आफ्नाे छोरी भन्दै झुटा कागजात पेस गरी नागरिकता दिलाएको आरोपमा जेठ २५ गते सिंहसहित सात जनाविरुद्ध मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि सिंह निलम्बनमा परेका थिए ।
सोमबार विशेष अदालतले सिंहसहित सबै प्रतिवादीलाई सफाइ दिएपछि उनको निलम्बन फुकुवा भएको हो । अदालतको सफाइसँगै सिंहलाई पदबाट हटाउने षड्यन्त्र वा आर्थिक लेनदेनका कारण मुद्दा चलाइएको थियो भन्ने दाबी पुष्टि गर्ने आधार भने देखिएको छैन ।
अदालतले उपलब्ध प्रमाणका आधारमा अभियोग पुष्टि नभएको ठहर गरेको हो । तर, सिंहविरुद्ध पर्सा जिल्ला अदालतमा दस्तखत किर्ते तथा झुटो विवरण पेस गरी नागरिकता बनाएको आरोपसम्बन्धी मुद्दा अझै विचाराधीन छन् ।
त्यसैले भ्रष्टाचार मुद्दाबाट सफाइ पाए पनि उनको सम्पूर्ण कानुनी चुनौती भने समाप्त भएको छैन । हाललाई उनी मेयरको जिम्मेवारीमा फर्किएका छन् भने बाँकी मुद्दाको परिणामले उनको आगामी राजनीतिक तथा कानुनी अवस्थालाई प्रभावित गर्न सक्ने देखिएको छ ।




