नेपालगञ्ज,०२ असाेज । नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित सुर्खेत रोड क्षेत्रमा पवनकुमार जैनको नाममा रहेको बहुतल्ले व्यावसायिक कम्पलेक्स नक्सा पासबिना नै सञ्चालनमा आएको छ । उपमहानगरपालिका कार्यालयदेखि करिब सय–डेढ सय मिटरकै दूरीमा रहेको उक्त व्यवसायिक भवन नक्सा पासबिना तीन वर्षदेखि निर्माणाधिन रहँदा पनि उपमहानगरपालिकाले कुनै अनुगमन नगर्नु वा आवश्यक कदम नचाल्नुले आर्थिक चलखेलको आशंका भएको स्थानीयस्तरमा चर्चा चलिरहेको छ । यो एउटा भवनको विषय मात्र नभई उपमहानगरपालिकाको भवन नियमन, अनुगमन र प्रशासनिक जवाफदेहितामाथि नै गम्भीर प्रश्न खडा गर्ने प्रकरण बनेको छ ।
विगत तीन वर्षदेखि संरचना बन्दै गयो, तल्ला थपिँदै गए, व्यवसाय सञ्चालनको तयारी भयो तर, उपमहानगरपालिकाको भवन निर्माण शाखा, इन्जिनियरिङ शाखा, नक्सा फाँट, नगर प्रहरी तथा सम्बन्धित वडा कार्यालयको प्रभावकारी अनुगमन कहाँ थियो भन्ने प्रश्न अहिले गम्भीर रुपमा उठेको छ । भवन निर्माण प्रकरणमा अनियमितता र भ्रष्टाचारको गन्ध आएको भन्दै व्यापक जनआशंका उब्जिएको छ । यसको वास्तविकता भने निष्पक्ष छानबिन र प्रमाणबाट भविष्यमा स्पष्ट हुने नै छ ।
उपमहानगरपालिकाबाट प्राप्त कागजातले भवन निर्माण प्रक्रियाबारे थप प्रश्न जन्माएको छ । कागजातमा व्यावसायिक प्रयोजनका लागि जमिनको सतह भन्दा माथि र घरको भुइँभन्दा मुनिको भाग (प्लिन्थ लेभल)सम्म निर्माण कार्यको इजाजत दिइएको तथा त्यसपछि प्राविधिक निरीक्षण र सुपर स्ट्रक्चरसम्बन्धी प्रक्रिया उल्लेख भएपनि भवनको हालको विशाल संरचना र त्यसको पूर्ण वैधानिक स्वीकृतिबारे स्पष्टता आवश्यक देखिन्छ । अझ महत्वपूर्ण कुरा, भवन निर्माण हुँदै गर्दा करिब तीन वर्षसम्म सम्बन्धित निकायले के हेरेर बसिरहेको थियो भन्ने प्रश्न उब्जिएको छ ।
पवनकुमार जैनको लगानी रहेको बहुतल्ले ‘कम्पलेक्स’ एकै रातमा पकैपनि बनेको होइन । वर्षौंसम्म निर्माणको काम चल्यो, संरचना थपिँदै गयो, व्यावसायिक प्रयोजनका लागि तयार भयो र अन्ततः सफल मार्ट, जिम क्लब, कन्सल्टेन्सी लगायतका व्यवसाय सञ्चालनमा आए । तर यही अवधिमा उपमहानगरपालिकालगायत सरोकारवाला निकायलाई आफ्नो काम सहि तरिका र निष्ठापूर्वक गर्न कसले र किन रोक्यो भन्ने प्रश्न उठनु स्वभाविक हो ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा २७ ले नगरपालिकाबाट नक्सा पास नगराई भवन निर्माण गर्न नहुने व्यवस्था गरेको छ । त्यही ऐनको दफा ३९ ले निर्माणाधीन वा निर्मित भवनको अनुमति, स्वीकृत नक्सा र मापदण्डअनुसार निर्माण भए–नभएको जाँचबुझ गर्ने तथा उल्लङ्घन पुष्टि भए कानुनबमोजिम कारबाहीको व्यवस्था गरेको छ ।
सेडब्याकको विषयले थप गम्भीर बनाएको प्रकरण
भवनको अगाडिपट्टि तथा साइडतर्फ आवश्यक सेडब्याक कायम नगरिएको भन्ने विषयसमेत उठेको छ । स्थलगत प्रतिवेदन तथा प्राविधिक विवरणले निर्धारित मापदण्डअनुसार आवश्यक दूरी कायम नभएको देखाएमा त्यसको कानुनी असर के हुन्छ भन्ने विषय अब उपमहानगरपालिकाले स्पष्ट पार्नुपर्ने हुन्छ । किनकि भवनको उचाइ वा सुन्दरता मात्र भवन निर्माणको मापदण्ड होइन, जग्गा, बाटो, खुल्ला स्थान, सेडब्याक, सुरक्षा र स्वीकृत नक्साअनुसार निर्माण भयो कि भएन—यी सबै कुरा कानुनी परीक्षणका विषय हुन् ।
नक्सा पास बाँकी, व्यवसाय भने निर्वाध
भवनको निर्माण प्रक्रियामाथि नै प्रश्न उठिरहेको अवस्थामा त्यही संरचनामा व्यवसाय कसरी सञ्चालनमा आए भन्ने चासो स्वभाविक नै हो । वडा नम्बर २ कार्यालयबाट व्यवसाय सञ्चालनसम्बन्धी सिफारिस कसरी भयो, त्यसको आधार के थियो र वडा अध्यक्ष मनोज श्रेष्ठ तथा वडा सचिवसहित सम्बन्धित कर्मचारीले कुन कागजातका आधारमा सिफारिस गरे भन्ने विषय पनि अब सार्वजनिक चासोको विषय बनेको छ । अर्कोतर्फ, यही भवनबाट राजस्व तथा करसम्बन्धी कारोबार भएको भए त्यसले अर्को प्रश्न जन्माउँछ—राजस्व तिरेको वा कर बुझाएको आधारमा भवन वैधानिक हुन्छ कि भवनको वैधानिकता छुट्टै कानुनी प्रक्रियाबाट प्रमाणित हुनुपर्छ ? राजस्व उठाउनु आफैंमा भवनको नक्सा स्वीकृत भएको प्रमाण होइन तर भवनको वैधानिक अवस्थाबारे सम्बन्धित निकायले कस्तो अभिलेख राख्यो भन्ने विषय भने महत्वपूर्ण हुन्छ ।
उपमहानगरपालिकाका शाखाहरूको भूमिका अब छानबिनको विषय
यस प्रकरणमा इन्जिनियरिङ शाखा प्रमुख निवेश शर्मा, नक्सा फाँटका इन्चार्ज मनराज थापा, नगर प्रहरी प्रमुख सूर्य बोगटीलगायत सम्बन्धित कर्मचारी तथा शाखाहरूको भूमिका पनि स्पष्ट हुनुपर्ने माग उठेको छ ।
भवन निर्माण भइरहेको तीन वर्षको अवधिमा निरीक्षण भएको थियो भने स्थलगत निरीक्षण प्रतिवेदन कहाँ छन् ? निर्माण रोक्न निर्देशन दिइएको थियो भने त्यसको अभिलेख कहाँ छ ? मापदण्ड उल्लङ्घन भेटिएको थियो भने कारबाही किन भएन ? र यदि कुनै उल्लङ्घन थिएन भने अहिले उठिरहेका प्रश्नको प्राविधिक आधार के हो ? जनताको गुनासो यहीँबाट सुरु हुन्छ—भवन उठ्दासम्म सम्बन्धित निकाय कहाँ थियो ?
मेयर बिष्टमाथि अब निर्णयको दबाब
नेपालगञ्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टका लागि यो प्रकरण एउटा प्रशासनिक परीक्षण पनि बनेको छ । जनगुनासो व्यापक बन्दै गएको अवस्थामा अब उपमहानगरपालिकाले राजनीतिक वा व्यक्तिगत दबाबभन्दा माथि उठेर प्राविधिक जाँच, कागजात परीक्षण र कानुनी प्रक्रिया अघि बढाउनुपर्ने देखिन्छ ।
स्थानीय सरकार सञ्चालन ऐनको दफा ३९ ले भवनको अनुमति, स्वीकृत नक्सा र मापदण्डबारे जाँचबुझको व्यवस्था गरेको छ । प्रतिवेदनबाट नक्सा पास नगरी वा स्वीकृत नक्साविपरीत निर्माण भएको ठहरेमा कानुनअनुसार भवन वा त्यसको भाग भत्काउने आदेशसम्मको व्यवस्था छ । यस्तो आदेशअघि सम्बन्धित व्यक्तिलाई आफ्नो सफाइ पेश गर्ने उचित मौका दिनुपर्ने व्यवस्था पनि ऐनमै छ ।
त्यसैले अब ‘भत्काउने कि नभत्काउने’ भन्ने राजनीतिक निर्णयभन्दा पहिले ‘कानुनअनुसार प्राविधिक जाँच र प्रतिवेदन के भन्छ ?’ भन्ने कुरा निर्णायक हुन्छ ।
भ्रष्टाचारको आशंका किन जन्मियो ?
भवन निर्माणको वैधानिकता, सेडब्याक, लामो समयसम्मको निर्माण, अनुगमनको अवस्था, वडा कार्यालयबाट व्यवसाय सञ्चालनसम्बन्धी सिफारिस र त्यही संरचनामा भइरहेको व्यावसायिक गतिविधि—यी सबै विषय एकै ठाउँमा जोडिँदा स्थानीय तहमा अनियमितता वा भ्रष्टाचार भएको हुन सक्ने आशंका व्यक्त हुन थालेको छ ।
तर आशंका र प्रमाण एउटै कुरा होइन । भ्रष्टाचार भएको हो वा होइन भन्ने निष्कर्ष प्रमाणसहितको छानबिनले मात्र निकाल्न सक्छ । त्यसैले अहिलेको मुख्य माग दोषी घोषणा गर्नु होइन, निष्पक्ष छानबिन र कागजात सार्वजनिक गर्नु हो ।
किनकि यदि सबै प्रक्रिया कानुनसम्मत छन् भने उपमहानगरपालिकाले त्यसको प्रमाण देखाउन कुनै कठिनाइ हुनु हुँदैन । र, यदि प्रक्रिया उल्लङ्घन भएको प्रमाणित हुन्छ भने सम्बन्धित व्यक्तिसँगै निर्माण रोक्न, अनुगमन गर्न र कानुनी प्रक्रिया अघि बढाउन जिम्मेवार सरकारी निकायको भूमिकासमेत छानबिनको दायरामा आउनुपर्छ ।
व्यक्तिको प्रभावमा कानुनलाई खुकुलो त बनाइएकन ?
नेपालगञ्जमा सामान्य नागरिकले घर बनाउँदा नक्सा, सेडब्याक, अनुमति र मापदण्डको पालना गर्नुपर्ने हो भने ठूलो व्यावसायिक संरचनाका हकमा पनि त्यही मापदण्ड लागू हुनुपर्छ । कानुनको आँखामा भवन सानो–ठूलो हुँदैन, व्यक्ति धनी–गरिब हुँदैन ।
त्यसैले यो प्रकरणमा जनताको माग स्पष्ट छ—कागजात खोलियोस्, प्राविधिक जाँच गरियास्, जिम्मेवार निकायको भूमिका छानबिन गरियोस् र यदि कानुनविपरीत निर्माण भएको पुष्टि भयो भने स्थानीय सरकार सञ्चालन ऐनअनुसार प्रक्रिया अघि बढाइयोस् ।
‘सानालाई ऐन, ठूलालाई चैन’ होइन—नेपालगञ्जलाई समान कानून र सुशासन चाहिएको छ ।
अब सबैको नजर उपमहानगर प्रमुख बिष्टतिर छ । आफ्नो कार्यालयको नाकै मुनि तीन वर्षसम्म नक्सा पास बिना निर्माणाधीन बहुतल्ले भवन प्रकरणमा अब उपमहानगरपालिकाको अगामी कदम के हुन्छ यो भविष्यले बताउने नै छ ।




