spot_img

मधेस सरकारले आफ्नै पहलमा छाप्न थाल्यो सवारी चालक अनुमतिपत्र

spot_img
spot_img

जनकपुर,०७ असाेज । मधेस प्रदेश सरकारले आफ्नै पहलमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ सुरु गरेको छ। प्रदेशको श्रम तथा यातायात मन्त्रालयले सुरक्षण मुद्रण केन्द्रबाट छपाइ गरिएका ३ हजार ८१ थान चालक अनुमतिपत्र बुधबार प्रदेशअन्तर्गतका विभिन्न यातायात कार्यालयलाई हस्तान्तरण गरेको हो।

मन्त्रालयले जनकपुरधाममा पत्रकार सम्मेलन आयोजना गरी प्रदेशका विभिन्न यातायात कार्यालयबाट माग भएअनुसार छपाइ गरिएका लाइसेन्स वितरण गरेको जनाएको छ।

श्रम तथा यातायातमन्त्री शारदा थापाले जनकपुरस्थित यातायात कार्यालयका प्रमुख वासुदेव मल्ललाई चालक अनुमतिपत्र हस्तान्तरण गरिन्। कार्यक्रममा मन्त्री थापाले प्रदेश सरकारकै अग्रसरतामा सुरक्षण मुद्रण केन्द्रबाट लाइसेन्स छपाइ गरी वितरण सुरु गरिएको बताइन्।

उनले प्रदेश सरकारले सेवा प्रवाहलाई सहज बनाउने उद्देश्यले लाइसेन्स छपाइको जिम्मेवारी आफ्नै पहलमा अघि बढाएको बताइन्।

मन्त्री थापाका अनुसार छपाइ भएका चालक अनुमतिपत्र स्थानीय तहसँगको सहकार्यमा वडास्तरसम्म पुर्‍याएर सेवाग्राहीलाई घरदैलोबाटै उपलब्ध गराउने तयारी भइरहेको छ।

मन्त्रालयका सचिव रञ्जित यादवले अब ट्रायल पास गरेका सेवाग्राहीले एक साताभित्रै चालक अनुमतिपत्र पाउने व्यवस्था गर्न सकिने बताए। यसअघि संघीय सरकारको प्रक्रियामार्फत लाइसेन्स छपाइ गर्दा समय लाग्ने गरेको भए पनि प्रदेश सरकारले आवश्यक संख्या तोकेर सुरक्षण मुद्रण केन्द्रमा छपाइका लागि पठाउने भएकाले वितरण छिटो हुने उनको भनाइ छ।

यातायात व्यवस्था कार्यालय जनकपुरका प्रमुख वासुदेव मल्लले प्रदेश सरकारबाटै छपाइ सुरु भएपछि सेवाग्राहीले लामो समय लाइसेन्स कुर्नुपर्ने अवस्था अन्त्य हुने बताए। उनका अनुसार हाल ट्रायल पास गरेको करिब एक महिनाभित्र लाइसेन्स वितरण हुँदै आएकोमा अब एक साताभित्रै उपलब्ध गराउने लक्ष्य छ।

मन्त्रालयका अनुसार बुधबार यातायात व्यवस्था कार्यालय राजविराज, सप्तरीलाई ५२ थान, लहान, सिरहालाई ४६० थान, बर्दिबास, महोत्तरीलाई ३०३ थान, जनकपुरलाई ९३२ थान, मलंगवा, सर्लाहीलाई ३२ थान, गौर, रौतहटलाई ११९ थान, कलैया, बारालाई ११ थान र वीरगन्ज, पर्सालाई १ हजार १७२ थान चालक अनुमतिपत्र पठाइएको छ।

यसरी प्रदेशका आठवटै यातायात कार्यालयमा पहिलो चरणमा ३ हजार ८१ थान चालक अनुमतिपत्र वितरण गरिएको मन्त्रालयले जनाएको छ।

spot_img
spot_img

ताजा अपडेट

Loading calendar...

लोकप्रिय