spot_img

मधेशका आठै जिल्लामा लम्पी स्किनको संक्रमण, १७५ चौपाया मरे

spot_img
spot_img

जनकपुर,०८ असोज । मधेश प्रदेशमा गाईगोरुमा लाग्ने लम्पी स्किन रोगको संक्रमण तीव्र रूपमा फैलिएको छ । गत जेठमा केही क्षेत्रमा देखिएको संक्रमण अहिले प्रदेशका आठवटै जिल्लामा पुगेको पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका अनुसार हालसम्म लम्पी स्किनका कारण प्रदेशमा १७५ चौपाया मरेका छन् भने १० हजारभन्दा बढी संक्रमित भएका छन् । मागअनुसार खोप उपलब्ध हुन नसक्दा संक्रमण थप फैलिन सक्ने जोखिम रहेको निर्देशनालयले जनाएको छ ।

लम्पी स्किनका कारण सबैभन्दा बढी क्षति सिराहामा भएको छ । त्यहाँ १४४ चौपाया मरेका छन् । महोत्तरीमा ३१, रौतहटमा १२, सप्तरीमा १०, सर्लाहीमा पाँच र धनुषामा चार चौपाया मरेका छन् । बारा र पर्सामा मरेका चौपायाको विवरण संकलन भइरहेको जनाइएको छ ।

संक्रमित चौपायाको संख्या भने सप्तरीमा सबैभन्दा बढी छ । निर्देशनालयका वरिष्ठ पशु विकास अधिकृत डा. राजकुमार साहका अनुसार सप्तरीमा ५ हजार ९५७, सिराहामा १ हजार २००, धनुषामा ८००, महोत्तरीमा ७४०, सर्लाहीमा ४०० र पर्सामा ४५ चौपाया संक्रमित भएका छन् ।

महोत्तरीमा संक्रमण १५ वटै स्थानीय तहमा फैलिएको छ । संक्रमण नियन्त्रणका लागि मात्रै जिल्लामा थप ३० हजार डोज खोप आवश्यक रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका वरिष्ठ पशु अधिकृत विजय पाण्डेले बताए ।

उनका अनुसार भदौमा जनकपुरस्थित क्षेत्रीय रोग अन्वेषण प्रयोगशालाबाट ३ हजार १०० डोज खोप उपलब्ध भए पनि गौशाला, मनरासिसवा नगरपालिका र महोत्तरी गाउँपालिकाका लागि मात्र पुग्यो । खोपको अभावमा जिल्लाका अन्य स्थानीय तहमा प्रभावकारी रूपमा नियन्त्रण अभियान सञ्चालन गर्न कठिनाइ भएको उनले बताए ।

पशुविज्ञका अनुसार ‘पक्स’ समूहको भाइरसबाट हुने लम्पी स्किन रोग लागेका चौपायामा उच्च ज्वरो आउने, अत्यधिक र्‍याल झर्ने, आँखा तथा नाकमा समस्या देखिने र शरीरमा कडा गाँठा देखिने गर्छ । संक्रमणका कारण गर्भिणी गाईमा गर्भपतन, दूध उत्पादनमा कमी तथा चौपाया अशक्त भएर मृत्यु हुने जोखिमसमेत हुन्छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय