काठमाडौं,०९ असाेज । भारतीय चलचित्र क्षेत्रका चर्चित हास्य अभिनेता मुस्ताक खानको ७५ वर्षको उमेरमा निधन भएको छ। उनको बिहीबार साँझ क्यान्सरका कारण निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
लामो समयदेखि चलचित्र तथा रंगमञ्चमा सक्रिय खान अस्पताल भर्ना हुनुअघिसम्म पनि अभिनयमा व्यस्त थिए। उनका छोरा मोहसिनका अनुसार उनी अभिनेता सलमान खानका अंगरक्षक शेराका छोराको डेब्यु चलचित्रको छायांकनमा सहभागी भइरहेका थिए।
मुस्ताक खान बलिउडका हास्यप्रधान चलचित्रमा आफ्नो विशिष्ट संवाद शैली, हाउभाउ र हास्य प्रस्तुतिका कारण लोकप्रिय थिए। उनले विभिन्न चलचित्रमा सहायक तथा हास्य भूमिकामा अभिनय गर्दै दर्शकमाझ छुट्टै पहिचान बनाएका थिए।
जाफर नगरमा जन्मिएका खानले अभिनय यात्रा स्थानीय रंगमञ्चबाट सुरु गरेका थिए। रंगमञ्च हुँदै चलचित्र क्षेत्रमा प्रवेश गरेका उनी लामो समयसम्म फिल्म र स्टेज दुवैमा सक्रिय रहे।
चलचित्रसँगै विभिन्न रंगमञ्चीय प्रस्तुतिमा समेत निरन्तर देखिँदै आएका खानको निधनले भारतीय मनोरञ्जन क्षेत्रमा शोक छाएको छ। उनको निधनप्रति जन्मस्थल जाफर नगरका स्थानीयवासीले पनि दुःख व्यक्त गरेका छन्।
स्थानीयवासीले खानको सम्मानमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्ने तयारी गरेका छन्। परिवारले भने शोकको यस घडीमा आफ्नो गोपनीयताको सम्मान गरिदिन आग्रह गरेको छ।





