बीरगंज,०९ असोज । रौतहटको मौलापुर नगरपालिका–४ स्थित लालबकैया खोलामा हाम फालेका बाराका एक युवक बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरियाका २७ वर्षीय सचिन्द्र यादव रहेका छन्। शुक्रबार दिउँसो आफ्ना दाइ सिकिन्द्र यादवले चलाएको मोटरसाइकलमा उपचारका लागि रौतहटतर्फ जाँदै गरेका बेला उनले लालबकैया पुलबाट अचानक खोलामा हाम फालेका थिए।
पुलबाट हाम फालेपछि सचिन्द्र सम्पर्कविहीन भएका हुन्। उनको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार इलाका प्रहरी कार्यालय मौलापुरका प्रहरी निरीक्षक भरत केसीको नेतृत्वमा १७ जना प्रहरीको टोली तथा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प देवाही गोनाहीका सशस्त्र प्रहरी निरीक्षक दिलबहादुर नेपालीको नेतृत्वमा गोताखोरसहित सात जनाको टोलीले खोजी गरिरहेको छ।
बेपत्ता युवकको मानसिक अवस्था ठीक नरहेको र पुलमा पुगेपछि अचानक मोटरसाइकलबाट ओर्लिएर खोलामा हाम फालेको उनका दाइ सिकिन्द्रले प्रहरीलाई जानकारी गराएका छन्।
प्रहरी र सशस्त्र प्रहरीको टोलीले खोलामा तथा आसपासका क्षेत्रमा खोजी कार्य जारी राखेको जनाएको छ।




