वीरगंज,१० असोज । पर्साको जिराभवानी गाउँपालिका–२ सेढवामा प्रथम जिराभवानी भेट्रान कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।
जिराभवानी भेट्रान क्लबको आयोजनामा सेढवास्थित मिनी रंगशालामा असोज २४ गतेदेखि ३१ गतेसम्म प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ।
प्रतियोगिताबारे जानकारी दिन शनिबार आयोजित पत्रकार सम्मेलनमा स्थानीय समाजसेवी कृष्ण चौधरीले गाउँघरका युवालाई खेलकुदतर्फ आकर्षित गर्दै कुलतबाट जोगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बताए।
उनका अनुसार ४० वर्ष उमेर पार गरेका खेलाडीहरू मैदानमा उत्रिएर फुटबल खेल्दा नयाँ पुस्तामा समेत खेलप्रति रुचि र उत्साह बढ्ने अपेक्षा गरिएको छ।
आयोजक जिराभवानी भेट्रान क्लबका अध्यक्ष चक्रधारी चौधरीका अनुसार प्रतियोगितामा १६ वटा भेट्रान क्लबको सहभागिता रहनेछ।
प्रतियोगिताको विजेता टोलीले ५० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई २५ हजार रुपैयाँ नगद र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।





