spot_img

राणा पक्राउ प्रकरणमा आफ्नो नाम जोडिएको भन्दै वीरगंजका मेयर सिंहको आपत्ति

spot_img
spot_img

वीरगंज,११ असोज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा पक्राउ प्रकरणमा आफ्नो नाम जोडेर प्रकाशित समाचारप्रति आपत्ति जनाएका छन्।

मेयर सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै राणा पक्राउ प्रकरणमा मेयर सिंहलाई जोडेर केही अनलाइन सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।

विज्ञप्तिमा अनलाइनखबर डटकममा आइतबार प्रकाशित समाचार तथा त्यसैलाई आधार बनाएर अन्य सञ्चारमाध्यममा प्रकाशित सामग्रीले मेयर सिंहको प्रतिष्ठामा आँच पुर्‍याउने र पाठकमा गलत धारणा सिर्जना गर्ने दाबी गरिएको छ।

राणा स्वयंले आफ्नो पक्राउको कारण खोजिरहेको अवस्थामा घटनासँग असम्बन्धित व्यक्तिलाई जबर्जस्ती जोडेर विवादमा ल्याउनु दुःखद भएको घिमिरेले बताएका छन्। प्रेस स्वतन्त्रताको पक्षमा रहे पनि व्यक्तिको प्रतिष्ठा र सार्वजनिक छविमा असर पर्ने गरी असम्बन्धित विषयमा नाम जोडेर समाचार सम्प्रेषण गर्नु स्वीकार्य नहुने उनको भनाइ छ।

विज्ञप्तिमा मेयर सिंह महानगर प्रमुखमा निर्वाचित हुनुअघि नागरिकता सेवासम्बन्धी विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको र उक्त विषयमा कानुनी प्रक्रिया अघि बढेको उल्लेख गरिएको छ।

पर्सा जिल्ला अदालतमा विचाराधीन रहेको विषयमा विशेष अदालतमा समेत मुद्दा दायर गरिएको भन्दै आफूहरूले सर्वोच्च अदालतमा रिट दायर गरेको, तर सर्वोच्चले रिट खारेज गरेपछि न्यायालयको सम्मान गर्दै विशेष अदालतको प्रक्रिया पूरा गरेको विज्ञप्तिमा जनाइएको छ।

विशेष अदालतबाट सफाइ पाएपछि सिंह पुनः वीरगन्ज महानगरवासीको सेवामा फर्किएको विषयलाई अन्य व्यक्तिको पक्राउ प्रकरणसँग जोडेर प्रस्तुत गर्नु तथ्य र सन्दर्भलाई विकृत गर्ने प्रयास भएको दाबी विज्ञप्तिमा गरिएको छ।

घिमिरेले सम्बन्धित सञ्चारमाध्यमलाई प्रकाशित समाचारको खण्डन गर्न आग्रह गरेका छन्। तथ्य पुष्टि नगरी समाचार सम्प्रेषण गरिएको भए पत्रकारिता आचारसंहिता तथा प्रचलित कानुनअनुसार प्रेस काउन्सिल नेपाललगायत सम्बन्धित निकायमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत विज्ञप्तिमार्फत दिइएको छ।

विज्ञप्तिमा समाचार प्रकाशन गर्दा तथ्यको पूर्ण पुष्टि गरी मात्र सामग्री सम्प्रेषण गर्न सञ्चारमाध्यमलाई आग्रह गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय