काठमाडौं, १२ असोज । भारतको ककरोच जनता पार्टी (सीजेपी)ले आगामी अक्टोबर २ मा ‘जेल भरो आन्दोलन’ गर्ने घोषणा गरेको छ। पार्टीका संस्थापक अभिजीत दीपकेले सोमबार सामाजिक सञ्जालमार्फत आन्दोलनबारे जानकारी दिएका हुन्।
दीपकेले एक्समा पोस्टर सार्वजनिक गर्दै मुम्बईस्थित शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने बताएका छन्। उनले भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागसमेत दोहोर्याएका छन्।
सीजेपीले यसअघि नै मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले पदबाट राजीनामा नदिए अक्टोबर २ देखि आन्दोलन सुरु गर्ने घोषणा गरेको थियो।
यसैबीच, मुम्बईमा आन्दोलन गर्न स्थानीय प्रशासनबाट अनुमति नपाएको सीजेपीको दाबी छ। अनुमति नदिएको विषयमा प्रतिक्रिया दिँदै दीपकेले जनताको आवाज दबाउने प्रयास स्वीकार्य नहुने बताएका छन्।
सीजेपीले आन्दोलनको तयारी तीव्र पारे पनि कार्यक्रम सञ्चालनका लागि अनुमति नदिइएको विषयमा सम्बन्धित निकायबाट थप विवरण सार्वजनिक भएको छैन।




