वीरगंज,१४ असोज । नेपाली कांग्रेसले आफ्ना जनप्रतिनिधिलाई सहभागी नहुन ह्वीप जारी गरे पनि वीरगंज महानगरपालिकाको २१औँ विशेष नगरसभामा आवश्यक बहुमतभन्दा बढी नगरसभा सदस्य सहभागी भएका छन्।
बुधबार होटल पुजनमा सुरु हुन लागेको विशेष नगरसभामा समाचार तयार पार्दासम्म १५६ नगरसभा सदस्यमध्ये १०२ जना सहभागी भइसकेका वीरगन्ज महानगरका मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेले जानकारी दिए। उनका अनुसार सहभागी हुने सदस्यको संख्या अझ बढिरहेको छ।
नेपाली कांग्रेस पर्साका सचिव दिनेश चौधरीले मंगलबार साँझ विज्ञप्ति जारी गर्दै पार्टीबाट निर्वाचित उपमेयर, वडाध्यक्ष, कार्यपालिका सदस्य तथा वडा सदस्यलाई विशेष नगरसभामा सहभागी नहुन निर्देशन दिएका थिए।
तर, कांग्रेसले बहिष्कारको निर्णय गरे पनि कांग्रेसबाट निर्वाचित केही नगरसभा सदस्यसमेत विशेष नगरसभामा सहभागी भएका छन्।
मेयर सिंह निलम्बनमा रहेका बेला उपमेयर इम्तियाज आलमको नेतृत्वमा महानगरपालिकाको बजेट तयार गरिएको थियो। विशेष अदालतबाट सफाइ पाएपछि पदमा फर्किएका मेयर सिंहले उक्त बजेट खारेज गरी नयाँ ढंगले बजेट निर्माणका लागि विशेष नगरसभा बोलाउने निर्णय गरेका थिए।
सोही निर्णयअनुसार बुधबार विशेष नगरसभा आयोजना गरिएको हो। मेयर सिंहले विशेष नगरसभाबाट नगरवासीको आवश्यकता र हितलाई समेट्ने गरी बजेट परिमार्जन तथा निर्माण गरिने बताएका छन्।




