spot_img

दोहोरो नागरिकताको आरोपदेखि खाद्य उद्योगमा जरिवानासम्म : विवादमा शंकर मित्तल

spot_img
spot_img

वीरगंज, १५ असोज । वीरगंजका व्यवसायी शंकर मित्तलमाथि दोहोरो नागरिकता, ब्रान्ड नक्कल तथा अवैध व्यापारमा संलग्न रहेको आरोप लागेको छ। जिल्ला प्रशासन कार्यालय बारामा उनको नागरिकतासम्बन्धी विषयमा छानबिन भइरहेको स्रोतले दाबी गरेको छ।

भारतीय नागरिक रहेको र झुटा तथा किर्ते विवरण पेस गरी नेपाली नागरिकता लिएको आरोप मित्तलमाथि लागेको हो। उनको दोहोरो नागरिकतासम्बन्धी मुद्दा जिल्ला प्रशासन कार्यालय बारामा विचाराधीन रहेको स्रोतको दाबी छ।

मित्तलविरुद्ध पछिल्लो समय ‘हेलो सरकार’मा समेत उजुरी परेको स्रोतले जनाएको छ। उजुरीपछि जिल्ला प्रशासन कार्यालय बारालाई नागरिकतासम्बन्धी विषयमा अनुसन्धान प्रक्रिया र त्यसमा भएको ढिलाइबारे जानकारी माग गर्दै पत्राचार गरिएको स्रोतको दाबी छ।

यसैबीच, मित्तलले सञ्चालन गर्दै आएको वीरगंज महानगरपालिका–१०, आदर्शनगरस्थित स्विट मार्ट फुड प्रालि मा गरिएको संयुक्त अनुगमनका क्रममा उत्पादनस्थलको सरसफाइ तथा फोहोर व्यवस्थापनको अवस्था कमजोर रहेको पाइएको छ। सोही आधारमा उद्योगलाई २ लाख रुपैयाँ जरिवाना गरिएको जिल्ला प्रशासन कार्यालय पर्साका सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाले जानकारी दिए।

थापाका अनुसार उनको नेतृत्वमा खटिएको संयुक्त अनुगमन टोलीले उद्योगको उत्पादनस्थलमा अनुगमन गर्दा सरसफाइको अवस्था कमजोर तथा फोहोर व्यवस्थापनमा लापरवाही भएको पाएको थियो। अनुगमनपछि उद्योगलाई उत्पादनस्थल तथा आसपासको क्षेत्रको सरसफाइ सुधार गरी १० दिनभित्र जिल्ला प्रशासन कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको उनले बताए।

बालबालिकासमेत उपभोग गर्ने खाद्य सामग्री उत्पादन गर्ने उद्योगमा सरसफाइको अवस्था कमजोर भेटिएको अवस्थामा तत्काल उत्पादन रोक्का नगरी सुधारका लागि १० दिनको समय दिइएको विषयमा भने नियमनकारी निकायको भूमिकामाथि प्रश्न उठाइएको छ। यस विषयमा सम्बन्धित निकायले खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्डको प्रभावकारी अनुगमन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने उपभोक्ताहरूको माग छ।

मित्तलमाथि ठूला बहुराष्ट्रिय कम्पनीका ब्रान्डसँग मिल्दोजुल्दो नाम, डिजाइन वा पहिचान प्रयोग गरी खाद्य सामग्री उत्पादन तथा बिक्री गर्ने गरेको आरोपसमेत लागेको छ। स्रोतका अनुसार उनीमाथि चिनी तस्करीमा संलग्न रहेको आरोप पनि छ। पछिल्ला केही वर्षमा उनको कम्पनीमा पटक–पटक अनुगमन तथा छापा परेको दाबी गरिएको छ।

यसअघि कास्कीमा सञ्चालित सुजल फुड उद्योगको ब्रान्ड नक्कल गरी च्युइङगम उत्पादन गरेको आरोपमा मित्तलले उद्योग विभागबाट जरिवाना तथा कारबाही भोगेको दाबीसमेत गरिएको छ।

मित्तलको कम्पनीले भारतीय चर्चित ब्रान्ड ‘सेन्टर फ्रुट’सँग मिल्दोजुल्दो रेपर प्रयोग गरी ‘सेन्टर फिल’ नामको च्युइङगम उत्पादन गर्दै आएको आरोप पनि लगाइएको छ। उक्त उत्पादन वीरगंजमा सीमित रूपमा बिक्री भए पनि दुर्गम क्षेत्रका बजारमा बिक्री वितरण हुँदै आएको स्रोतको दाबी छ।

नेपालमा ‘सेन्टर फ्रुट’ ब्रान्डसँग सम्बन्धित कम्पनीले प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) मार्फत काम गरिरहेको र नेपालमै उद्योग सञ्चालन गरी उत्पादनसमेत गरिरहेको कम्पनीका प्रतिनिधि आलोक कर्णले बताए।

सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाको नेतृत्वमा गरिएको संयुक्त अनुगमन टोलीमा जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी राजु कार्की, रामप्रसाद लम्साललगायतको सहभागिता रहेको थियो।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय