बीरगंज,१५ असोज । पछिल्लो समय बाढीपहिरोलगायत प्राकृतिक विपत्तिका समाचारका कारण भारतीय पर्यटकको आगमन घटेपछि पर्यटन व्यवसायीले सीमामै पुगेर नेपाल भ्रमणका लागि निम्तो दिन थालेका छन् ।
विश्व पर्यटन दिवसको अवसर पारेर नाट्टा मधेस प्रदेश, पर्यटन विकास कार्यालय बीरगंज तथा बारा–पर्साका होटल तथा पर्यटन व्यवसायीले बीरगंज नाकामा ‘कलिङ नेपाल’ अभियान सञ्चालन गरेका हुन् । अभियानमार्फत नेपाल सुरक्षित रहेको र भारतीय पर्यटकलाई स्वागत गर्न तयार रहेको सन्देश दिन थालिएको छ ।
बीरगंज नाकाबाट नेपाल प्रवेश गर्ने भारतीय पर्यटकलाई पर्यटक प्रहरी, सुरक्षाकर्मी, पर्यटन कार्यालयका कर्मचारी तथा व्यवसायीले खादा र रुद्राक्षको माला लगाएर स्वागत गरेका थिए । सीमामै गरिएको आत्मीय स्वागतबाट पर्यटकहरू उत्साहित देखिएका थिए ।
मधेस प्रदेश पर्यटन विकास कार्यालय बीरगंजका प्रमुख अरविन्द यादवले प्राकृतिक विपत्तिपछि सिर्जित नकारात्मक धारणालाई चिर्दै नेपालको पर्यटन वातावरण सुरक्षित रहेको सन्देश दिन अभियान सुरु गरिएको बताए ।
“नेपालको पर्यटकीय वातावरण सुरक्षित छ र नेपाली पाहुनाको स्वागतमा सधैं समर्पित छ भन्ने अनुभूति दिलाउन सीमामै पुगेर अभियान सञ्चालन गरेका हौं,” उनले भने, “भारतीय पर्यटकलाई पुनः मधेसको पर्यटनतर्फ आकर्षित गर्न निजी क्षेत्र पनि उत्साहका साथ लागेको छ ।”
भारतको उत्तर प्रदेशबाट परिवारसहित नेपाल आएका पर्यटक रामेश्वर दुबेले बाढीपहिरोका समाचारका कारण केही आशंका भए पनि नेपाल आएपछि अवस्था सामान्य र सुरक्षित पाएको बताए । नेपालीहरूको आत्मीय आतिथ्यताले आफूहरूलाई थप उत्साहित बनाएको उनको भनाइ थियो ।
मधेस प्रदेशको पर्यटन व्यवसायमा भारतीय पर्यटकको महत्वपूर्ण योगदान रहँदै आएको व्यवसायीहरू बताउँछन् । धार्मिक पर्यटनसँगै बीरगंजलगायतका सहरका होटल, बजार, क्यासिनो तथा अन्य पर्यटकीय गतिविधिमा भारतीय पर्यटकको उल्लेख्य सहभागिता हुने गरेको छ ।
तर पछिल्लो एक महिनायता बाढीपहिरो तथा प्राकृतिक विपत्तिका समाचारका कारण स्थलमार्ग हुँदै आउने पर्यटकको संख्या घट्दा पर्यटन व्यवसायमा करिब ८० प्रतिशतसम्म गिरावट आएको व्यवसायीहरूको अनुमान छ ।
नाट्टा मधेस प्रदेशका अध्यक्ष मोहन शर्माले नेपालमा बाढीपहिरोको अवस्था सामान्य भइसकेको र पर्यटकका लागि प्रमुख गन्तव्य तथा आवागमन सुरक्षित रहेको सन्देश भारतीय बजारसम्म पुर्याउन अभियान सञ्चालन गरिएको बताए ।
“भारतीय पर्यटकलाई आफ्नै परिवारका सदस्यझैं स्वागत गर्न नेपाल सधैं तयार छ,” उनले भने, “उहाँहरूको सुरक्षा र सुविधाका लागि हामी प्रतिबद्ध छौं भन्ने सन्देश दिन अभियानको आयोजना गरिएको हो ।”
व्यवसायी तथा पर्यटन क्षेत्रका सरोकारवालाले सीमाबाटै सुरु गरिएको यस्तो प्रवर्द्धनात्मक अभियानले प्राकृतिक विपत्तिपछि सुस्ताएको पर्यटन व्यवसायलाई पुनः चलायमान बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।




