काठमाडौं,१६ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी नोभेम्बर ३ मा हुने मध्यावधि निर्वाचनपछि इरानमाथि पुनः सैन्य कारबाही तीव्र पार्न सकिने संकेत गरेका छन्। यसैबीच अमेरिकाले पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति थप बढाउँदै करिब ९ हजार सैनिकसहित तेस्रो विमानवाहक युद्धपोत समूह त्यसतर्फ पठाएको छ।
ट्रम्पले टाइम म्यागजिनलाई दिएको अन्तर्वार्तामा मध्यावधि चुनावपछि इरानमाथिको बमबारी बढाउने सम्भावनालाई अस्वीकार नगरेको बताएका हुन्। यद्यपि उनले सैन्य रणनीतिबारे थप विवरण भने खुलाएनन्।
अमेरिकी सेनाले पठाएको नयाँ सैन्य समूहमा यूएसएस थियोडोर रुजवेल्ट विमानवाहक युद्धपोतसहित करिब ९ हजार सैनिक छन्। यससँगै पश्चिम एसियामा अमेरिकी विमानवाहक युद्धपोतको संख्या तीन पुग्ने सम्भावना छ। अहिले यूएसएस जर्ज एचडब्लु बुस र यूएसएस जर्ज वासिङ्टन यस क्षेत्रमा तैनाथ छन्।
अमेरिकी रक्षामन्त्री पिट हेगसेथले राष्ट्रपतिबाट आदेश आएमा इरानविरुद्ध थप सैन्य कारबाहीका लागि अमेरिकी सेना तयार रहेको बताएका छन्। पछिल्लो सैन्य तैनाथीले इरानविरुद्ध सैन्य विकल्प खुला राख्ने अमेरिकी तयारीलाई देखाएको छ।
यसअघि इरानले युद्ध अन्त्य गर्ने उद्देश्यसहित सातदिने प्रस्ताव अघि सारेको थियो। प्रस्तावमा होर्मुज जलडमरु पुनः खोल्ने तथा परमाणु कार्यक्रमका विषयमा वार्ता अघि बढाउने विषय समेटिएका थिए। इरानले अमेरिकी नाकाबन्दी हटाउने, तेल निर्यातमा सहजीकरण गर्ने र युद्धविराम कायम गर्ने विषयलाई पनि प्रस्तावसँग जोडेको थियो।
तर ट्रम्पले उक्त प्रस्ताव अस्वीकार गर्दै आफूले स्वीकार गर्न नसक्ने बताएका थिए। होर्मुज जलडमरु खोल्ने प्रस्ताव मात्रै पर्याप्त नभएको उनको भनाइ थियो।
इरानी विदेशमन्त्री अब्बास अरागचीले भने सम्झौताअन्तर्गत होर्मुज जलडमरु खोल्न इरान तयार रहेको बताएका छन्। त्यसका लागि विदेशमा रोक्का राखिएका इरानी सम्पत्ति फुकुवा तथा तेल बिक्रीमा सहजीकरण हुनुपर्ने इरानको माग छ।
अमेरिका र इजरायलले गत फेब्रुअरी २८ मा इरानमाथि सैन्य कारबाही सुरु गरेपछि इरानले पनि इजरायल तथा खाडी क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडालाई लक्षित गरी आक्रमण गर्दै आएको छ।
अमेरिकाले इरानको परमाणु क्षमतालाई कमजोर पार्नु आफ्नो सैन्य कारबाहीको प्रमुख उद्देश्य भएको बताउँदै आएको छ। इरानले भने आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण प्रयोजनका लागि रहेको र परमाणु प्रविधिको प्रयोग गर्ने अधिकार आफूलाई रहेको दाबी गर्दै आएको छ।
पछिल्लो अमेरिकी सैन्य तैनाथी र ट्रम्पको मध्यावधि निर्वाचनपछि थप आक्रमणको सम्भावनासम्बन्धी अभिव्यक्तिले अमेरिका–इरान द्वन्द्व तत्कालै अन्त्य हुनेभन्दा थप जटिल बन्न सक्ने संकेत गरेको छ।





