spot_img

जनमत पार्टीको दोस्रो महाधिवेशन भोलिदेखि वीरगंजमा, १०३ जनाको उम्मेदवारी

spot_img
spot_img

वीरगंज, १६ असोज । जनमत पार्टीको दोस्रो महाधिवेशन भोलिदेखि वीरगंजमा हुँदैछ। अविरल वर्षाका कारण असोज ९ गतेका लागि तय भएको महाधिवेशन स्थगित भएपछि नयाँ मिति तय गरिएको हो।

महाधिवेशनबाट चयन हुने केन्द्रीय कार्यकारिणी समितिका लागि उम्मेदवारी दर्ता भइसकेको छ। विभिन्न पदमा कुल १०३ जनाले उम्मेदवारी दिएका छन्। निर्वाचन प्रक्रिया असोज १७ गतेदेखि सुरु हुनेछ।

अध्यक्ष पदमा डा. सीके राउतको मात्रै उम्मेदवारी परेको छ। यद्यपि विधानअनुसार अध्यक्षमा पनि मतदान हुनेछ र निर्वाचित हुन खसेको सदर मतको कम्तीमा २० प्रतिशत मत प्राप्त गर्नुपर्नेछ।

सात उपाध्यक्षका लागि १४ जना, महासचिवका लागि तीन, उपमहासचिवका लागि दुई र सात सचिव पदका लागि १० जनाको उम्मेदवारी परेको छ। कार्यकारिणी समिति सदस्यका लागि ७३ जनाले उम्मेदवारी दिएका छन्।

उपाध्यक्षका उम्मेदवार नरेन्द्र चौधरीका अनुसार अध्यक्षबाहेक अन्य पदमा प्रतिस्पर्धा हुने निश्चित भएको छ। उनका अनुसार महाधिवेशनमा २ हजारभन्दा बढी मतदाता सहभागी हुनेछन्। अन्तिम मतदाता नामावली भने कार्यकारिणी समितिको बैठकले टुंगो लगाउनेछ।

निर्देशिकाअनुसार महाधिवेशनबाट १०० जना केन्द्रीय कार्यकारिणी समितिका पदाधिकारी तथा सदस्य निर्वाचित हुनेछन्। बाँकी ५१ सदस्य समावेशी आधारमा मनोनीत गरिने पार्टीले जनाएको छ। कार्यकारिणी समितिमा ४० वर्षमुनिका युवा तथा महिलाको सहभागिता एकतिहाइ पुर्‍याउने व्यवस्था गरिएको छ।

महाधिवेशनबाट अध्यक्ष एक, उपाध्यक्ष बढीमा सात, महासचिव एक, उपमहासचिव एक र सचिव बढीमा सात गरी बढीमा १७ जना पदाधिकारी निर्वाचित हुनेछन्। कोषाध्यक्ष र प्रवक्ता भने अध्यक्षले मनोनयन गर्ने व्यवस्था छ।

निर्वाचन निर्देशिकाअनुसार कुनै पनि केन्द्रीय कार्यकारिणी सदस्यमा निर्वाचित हुन कुल खसेको मतको कम्तीमा २० प्रतिशत प्राप्त गर्नुपर्नेछ। खुलातर्फ एउटै जिल्लाबाट बढीमा पाँच जना मात्रै सदस्य निर्वाचित हुन सक्ने व्यवस्था छ। तोकिएको संख्याभन्दा बढी उम्मेदवारलाई मत दिएमा मतपत्रमा माथिबाट क्रमशः आवश्यक संख्याका उम्मेदवारको मत मात्रै मान्य हुने व्यवस्था गरिएको छ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय