वीरगंज । शिक्षा तथा खेलकुद मन्त्रालयले सामुदायिक विद्यालयका शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषयमा गम्भीर ध्यानाकर्षण जनाउँदै आवश्यक कारबाही गर्न ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको छ।
बैतडी, बागलुङ, सिन्धुली, सिन्धुपाल्चोक, मुगु, रौतहट, सल्यानलगायत जिल्लाका शिक्षकहरू राजनीतिक कार्यक्रममा सहभागी भएको विषय सञ्चारमाध्यम र सामाजिक सञ्जालमा सार्वजनिक भएपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो।
मन्त्रालयका अनुसार शिक्षकहरूको राजनीतिक गतिविधिमा संलग्नता शिक्षा नियमावली, २०५९ को नियम १३३ को उपनियम (१) को खण्ड (ग) विपरीत छ।
परिपत्रमार्फत मन्त्रालयले आचारसंहिता उल्लङ्घन गर्ने शिक्षकको पहिचान गरी आवश्यक खोजबिन तथा निगरानी गर्न निर्देशन दिएको छ। साथै, स्थानीय तहसँग समन्वय गरी शिक्षा नियमावलीको नियम १३७ को खण्ड (ग) र नियम १४३ बमोजिम आवश्यक कारबाही अघि बढाउन भनिएको छ।
मन्त्रालयले शिक्षकहरूलाई राजनीतिक दलका कार्यक्रममा सहभागी हुनबाट रोक्न तथा नियमविपरीत गतिविधिमा संलग्न शिक्षकमाथि नियमानुसार कारबाही सुनिश्चित गर्न सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको हो।





